काठमाडौँ – संघीय राजधानी काठमाडौँमा आज (शुक्रबार) गणतन्त्रवादी र राजावादीले छुट्टाछुट्टै प्रदर्शन गर्दैछन्। गणतन्त्रको पक्षमा समाजवादी मोर्चाले भृकुटीमण्डपमा प्रदर्शन गर्न लागेको छ भने राजसंस्थाको पुनर्स्थापनाको माग गर्दै संयुक्त जनआन्दोलन समितिले तीनकुनेमा प्रदर्शन गर्नेछ।
राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समितिको नेतृत्व नवराज सुवेदीले गरिरहेका छन् भने समितिका जनकमान्डर दुर्गा प्रसाईंले समेत सक्रिय भूमिका खेलेका छन्। उनीहरूले पूर्वराजा ज्ञानेन्द्र शाहलाई प्रदर्शनमा सहभागी गराउने प्रयास गरेका छन्। यसैबीच, गणतन्त्र समर्थक दलहरू नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी (नेसपा) र नेपाल कम्युनिस्ट पार्टीले विभिन्न ठाउँबाट जुलुस निकाल्दै भृकुटीमण्डपमा शक्ति प्रदर्शन गर्दैछन्।
गणतन्त्र पक्षधर दलहरूले बबरमहल, त्रिपुरेश्वर, कुपण्डोल, सोह्रखुट्टे, सुन्धारा, न्यूरोड, थापाथली, पुतलीसडक, माइतीदेवी, कमलादीलगायत स्थानहरूबाट जुलुस निकाल्नेछन्। सुरक्षा समितिले दुबै पक्षको भिडन्त रोक्न राजावादी प्रदर्शनलाई तीनकुनेमा र गणतन्त्रवादी प्रदर्शनलाई भृकुटीमण्डपमा सीमित गर्ने रणनीति बनाएको छ।
नेपाल प्रहरीले प्रदर्शनका क्रममा उच्च सुरक्षा सतर्कता अपनाउने जनाएको छ। प्रहरीका अनुसार पूर्वराजा समर्थक प्रदर्शनकारीलाई चक्रपथभित्र प्रवेश गर्न नदिने र समाजवादी मोर्चाका प्रदर्शनकारीलाई चक्रपथबाहिर जान नदिने सुरक्षा योजना बनाइएको छ।
केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी दिनेश आचार्यका अनुसार उपत्यकाका विभिन्न क्षेत्रमा ४ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिनेछ। विशेष रूपमा रानीपोखरी र भद्रकाली क्षेत्रमा मात्रै ३ हजार प्रहरी तैनाथ हुनेछन्। साथै, काठमाडौँका विभिन्न गण र गुल्मबाट थप १११६ सुरक्षाकर्मी परिचालन गरिनेछ।
यसैबीच, ट्राफिक प्रहरी प्रमुख एसएसपी विनोद घिमिरेले प्रदर्शनका कारण उपत्यकाको सवारी आवागमन प्रभावित हुने बताएका छन्। वैकल्पिक ट्राफिक व्यवस्थापनका लागि आज ११ बजेपछि योजना तय गरिने जनाइएको छ।