पाल्पामा मातृ तथा शिशु मृत्युदर घटाउने अभियान सुरू

195 Shares

पाल्पा – मातृ तथा शिशु मृत्युदर घटाउन लुम्बिनी प्रदेश सरकारले पाल्पाबाट विशेष अभियान सुरू गरेको छ। जनचेतना अभाव र आर्थिक कमजोरीका कारण मातृ तथा नवजात शिशु मृत्युदर उच्च रहेकाले यसलाई कम गर्न मोबाइलमार्फत पारिवारिक स्वास्थ्य विवरण सङ्कलन गर्ने कार्यक्रम सुरू गरिएको हो।

प्रदेश स्वास्थ्य मन्त्रालयका अनुसार मातृ तथा शिशु मृत्युदरलाई दोहोरो अंकबाट एकल अंकमा झार्ने लक्ष्यसहित अभियान सञ्चालन गरिएको छ। लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले तानसेनबाट अभियानको शुभारम्भ गरेका हुन्। उनले गर्भावस्था, सुत्केरी अवस्थामा रहेका महिला तथा दुई वर्षमुनिका बालबालिकाको समयमै पहिचान गरी स्वास्थ्य तथा पोषण सुधार गर्ने उद्देश्य रहेको बताए।

अभियानअन्तर्गत ६५ हजार घरपरिवारमा स्वास्थ्यकर्मी खटाइनेछ। सेवाग्राही र सेवा प्रदायकको मोबाइलमा सन्देश पठाई नियमित रूपमा स्वास्थ्य सेवाको पहुँच र उपभोग बढाइनेछ। अभियानका लागि पाल्पामा ३९ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ।

प्रदेश सरकारले पाल्पासहित बाँके र अर्घाखाँचीमा पनि यही अभियान सञ्चालन गर्दै छ। अर्घाखाँचीका ४८ हजार र बाँकेका ९४ हजार घरपरिवारमा स्वास्थ्यकर्मी परिचालन गरिनेछ।

राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा प्रति एक लाख जीवित जन्ममा १५१ जना आमाको मृत्यु हुने गरेको छ। लुम्बिनी प्रदेशमा यो सङ्ख्या अझै उच्च छ, जहाँ प्रति एक लाख जीवित जन्ममा २०७ आमाले ज्यान गुमाउने गरेका छन्। यस अवस्थालाई सुधार गर्न प्रदेश सरकारले विशेष पहल सुरू गरेको हो।

सम्बन्धित समाचार

सबै