
बनेपा — उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको विकल्प नरहेको स्पष्ट पारेका छन्। बिहीबार बनेपा नगरपालिकाको ४४औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले संविधानसभाबाट बनेको संविधानलाई विधि र प्रक्रियाबाट सुधार गर्न सकिने भए पनि त्यसको विकल्प खोज्नु असंवैधानिक हुने बताए।
‘‘संविधान जारी भएपछि अभ्यासका क्रममा केही कमजोरी देखिएका छन् भने संशोधनको बाटोबाट सुधार गर्नुपर्छ,’’ उपप्रधानमन्त्री सिंहले भने, ‘‘तर संविधानको मार्ग छाड्ने कुनै विकल्प छैन।’’
उनले जुनसुकै चुनौती आए पनि संविधानको बाटोबाटै समाधान खोज्नुपर्नेमा जोड दिए। अहिलेको संविधान सामान्य स्थितिबाट होइन, जनताको संघर्ष र बलिदानबाट प्राप्त उपलब्धि भएकाले त्यसको संरक्षण सबैको जिम्मेवारी भएको उनले स्मरण गराए।
सिंहले सरकार नागरिकको जीवन र जीविकोपार्जन सहज बनाउन प्रयत्नशील रहेको उल्लेख गर्दै विकास निर्माणका काममा जनप्रतिनिधि र जनताको सहकार्य आवश्यक रहेको धारणा राखे। ‘‘केही पनि भएन भन्ने गलत भाष्य छ, तर यथार्थ त्यस्तो होइन,’’ उनले भने, ‘‘भएको कुरा स्विकारेर बाँकी काम पूरा गर्नेतर्फ लाग्नुपर्छ।’’
कार्यक्रममा बाग्मती प्रदेशका सांसद कञ्चनचन्द्र बादे, तीर्थ लामा, काठमाडौँ विश्वविद्यालयका उपकुलपति अच्युत वाग्ले लगायतले नगरपालिकाको स्थापना दिवसमा शुभकामना व्यक्त गर्दै बनेपाको समुन्नत विकासमा सहयोग गर्ने प्रतिबद्धता जनाए।