काठमाडौं — राष्ट्रिय मानव अधिकार आयोगले शुक्रबार काठमाडौं उपत्यकामा हुने विभिन्न प्रदर्शनहरू शान्तिपूर्ण बनाउन आयोजक पक्षहरूलाई अपील गरेको छ। आयोगले विज्ञप्ति जारी गर्दै समाजवादी मोर्चा र राजावादी समूहलाई प्रदर्शनका क्रममा शान्ति सुरक्षामा चुनौती नआउने गरी आचारसंहिता पालना गर्न आग्रह गरेको हो।
आयोगले दुवै पक्षका प्रदर्शनहरू एकै ठाउँमा जुध्ने सम्भावनाले शान्ति सुरक्षामा समस्या आउन सक्ने भन्दै चासो व्यक्त गरेको छ। यसै सन्दर्भमा आयोगले काठमाण्डौ र ललितपुरका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख तथा नेपाल प्रहरीको मानव अधिकार सेलसँग छलफलसमेत गरेको जनाएको छ।
आयोगका अध्यक्ष तपबहादुर मगरले शान्ति सुरक्षाको प्रबन्ध गर्दा मानव अधिकारका मूल्य मान्यता सुनिश्चित गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन्।
यता, राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिले दुर्गा प्रसाईंलाई आन्दोलनको कमाण्डरको जिम्मेवारी दिएको जनाएको छ। उता, काठमाडौं उपत्यकाका नेवाः समुदायका अगुवा व्यक्तिहरूले भने संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक प्रतिनिधित्व र समावेशी लोकतन्त्रको संरक्षणमा प्रतिबद्धता जनाएका छन्। उनीहरूले विज्ञप्ति जारी गर्दै राजतन्त्र र हिन्दू राष्ट्र पुनर्स्थापनाका माग अस्वीकार्य भएको स्पष्ट पारेका छन्।