
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले कर्मचारीहरूबीच प्रचारबाजी गरेर स्थापित हुने प्रवृत्ति बढेको टिप्पणी गरेका छन्। बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले काम गरेर होइन, प्रचार गरेर पहिचान बनाउन खोज्ने होडबाजी भइरहेको बताए।
मन्त्री खड्काले कर्मचारीहरूलाई कानुन र मर्यादाभित्र रही इमानदारीपूर्वक काम गर्न सुझाव दिए। उनले भने, ‘कर्मचारी साथीहरूबीच मिडिया र प्रचारबाजीमार्फत स्थापित हुने प्रतिस्पर्धा चलेको देखिन्छ। तर यसले समाजलाई फाइदा गर्दैन। साँच्चिकै काम गरेर प्रतिस्पर्धा गरौं।’
यदि कर्मचारीहरूले मर्यादा नाघे सरकारलाई आवश्यक कदम चाल्नुपर्ने अवस्था आउने चेतावनीसमेत उनले दिए।
हालै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गरेपछि उठेको आलोचनाबीच मन्त्री खड्काले यस्तो अभिव्यक्ति दिएका हुन्।
उनले ऊर्जा क्षेत्रमा सरकारका लक्ष्यहरू पनि सार्वजनिक गरे। सन् २०३५ भित्रमा देशको जडित विद्युत् क्षमता २८ हजार ५०० मेगावाट पुर्याउने र प्रतिव्यक्ति वार्षिक खपत १ हजार ५ सय युनिट बनाउने लक्ष्य रहेको उनले बताए। साथै, आगामी दुई वर्षभित्र देशका सबै घरधुरीमा विद्युत् पहुँच पुर्याउने तयारी भइरहेको जानकारी दिए।
गरिब तथा विपन्न वर्गले विद्युत महसुल तिर्न नसक्दा सेवा नकटोस् भनेर प्रतिमहिना ५० प्रतिशत छुटको व्यवस्था गरिएको मन्त्री खड्काले स्पष्ट पारे।