काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी दलहरूले संसद अवरुद्ध गरेकोप्रति आक्रोश व्यक्त गरेका छन्। बिहीबार काठमाडौंमा आयोजित महिला उद्यमी व्यापार मेलाको उद्घाटन समारोहमा उनले कर्मचारी सरुवा वा पदमुक्तिको सामान्य विषयलाई ठूलो मुद्दा बनाएर संसद अवरुद्ध गरिएको आरोप लगाए।
प्रधानमन्त्री ओलीले आफूहरू कर्मचारी हटाउँदा अनावश्यक रुपमा संसद रोकेर असन्तोष देखाइएको बताए। उनले भने, ‘कर्मचारी सरुवा भयो कि हटाइयो भनेर विषय न शिषय संसद अवरुद्ध गरिएको छ।’
कुलमान घिसिङको पदमुक्ति प्रकरणलाई लिएर अदालतमा दायर रिट र त्यसको वरिपरि भइरहेको विरोधलाई संकेत गर्दै ओलीले लेखकमध्ये लक्ष्मीप्रसाद देवकोटाको उपन्यास ‘प्रमिथस’सँग तुलना गरे। उनले केही व्यक्तिहरूले एउटा कर्मचारीको विषयलाई अनावश्यक रुपमा देवत्वकरण गर्दै हल्ला मच्चाएको टिप्पणी गरे।
ओलीले प्रमिथस उपन्यासको सन्दर्भ उल्लेख गर्दै भने, ‘स्वर्गबाट आगो लिएर पृथ्वीमा दिएबापत दण्ड पाएको प्रमिथसजस्तै घिसिङको व्याख्या गरिँदैछ।’
उनले अघिल्लो कार्यकालमा चार वर्ष कार्यकारी निर्देशकका रूपमा काम गरिसकेकालाई पुनः नियुक्त गर्दा भोलिपल्टै सबैकुरा बदलिएको जस्तो गलत प्रचार गरिएको भन्दै असन्तुष्टि जनाए।
प्रधानमन्त्री ओलीले अध्यादेशहरू समयमै पारित नभए देश कानूनी संकटमा फस्ने चेतावनीसमेत दिएका छन्।