काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउने विषयमा राजनीतिक दलहरूबीच कुनै विमति नरहेको बताएका छन्।
बिहीबार काठमाडौंमा आयोजित संक्रमणकालीन न्यायसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले विगतमा पनि शान्ति सम्झौताको विषयमा दलहरूबीच विवाद नभएको र भविष्यमा पनि नहुने विश्वास व्यक्त गरे। “पीडितहरूलाई न्याय दिनुपर्ने कुरामा दलहरूबीच कहिले विवाद भएन, अहिले पनि हुँदैन,” प्रचण्डले भने।
उनले टीआरसी (सत्य निरूपण तथा मेलमिलाप आयोग) विधेयक पारित प्रक्रियामा राजनीतिक कारणले ढिलाइ नभएको दाबी गरे। विधेयक पारित भइसकेको र आयोग गठनका लागि सिफारिस समिति बनेको जानकारी दिँदै उनले पीडितलाई न्याय दिलाउने कामलाई प्राथमिकतामा राख्नुपर्ने बताए।
प्रचण्डले शान्ति प्रक्रियालाई सफल बनाउन आफूसहित आफ्ना पार्टीले धेरै जोखिम मोलेको उल्लेख गर्दै बाँकी काम निष्कर्षमा पुर्याउन सबै दलहरू एकजुट हुनुपर्ने धारणा राखे। उनले नेपालको शान्ति प्रक्रिया विश्वमै मौलिक र उदाहरणीय रहेको पनि बताए।