काठमाडौं । प्रतिनिधिसभामा नेकपा माओवादी केन्द्रसहितका विपक्षी दलहरूले अवरोध जारी राख्दा प्रधानमन्त्री केपी शर्मा ओली भने बालुवाटारमा सत्ता पक्षीय दलहरूको बैठकमा व्यस्त छन्।
नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङको बर्खास्तीविरुद्ध विपक्षी दलहरूले संसद् अवरुद्ध गरेका छन्। जनताबीच लोकप्रिय र लोडसेडिङ हटाउन निर्णायक भूमिका खेलेका घिसिङलाई सरकारले प्रतिशोध साँधेर हटाएको आरोप लगाउँदै विपक्षीले प्रधानमन्त्रीको जवाफ मागेका छन्।
तर, प्रधानमन्त्री ओली बालुवाटारमा सत्ता पक्षीय दलहरूसँग छलफलमा जुटेका छन्। बैठकमा जसपा नेपाल अध्यक्ष उपेन्द्र यादव, कांग्रेस सभापति शेरबहादुर देउवा, जनमत पार्टी अध्यक्ष सीके राउत, नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) अध्यक्ष महन्थ ठाकुर, जसपा अध्यक्ष अशोक राईलगायतका नेताहरू सहभागी छन्।
यस बैठकमा भूमिसम्बन्धी अध्यादेशलाई फिर्ता लिएर विधेयकका रूपमा अघि बढाउने योजना बनाइएको छ। सत्ता पक्षीय दलहरूले यसै विषयमा छलफल गर्न बैठक आयोजना गरेको जनाइएको छ।
यता, विपक्षी दलहरूले सदन अवरुद्ध गरेपछि सभामुख देवराज घिमिरेले संसद् बैठक ३० मिनेटका लागि स्थगित गरेका छन्।







