कुलमान घिसिङबारेको विरोधलाई सरकारको प्रतिक्रिया: ‘सामान्य विषय’

64 Shares

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक पदबाट बर्खास्तीमा परेका कुलमान घिसिङको पक्षमा भइरहेको विरोध प्रदर्शनलाई सरकारले सामान्य रूपमा लिएको जनाएको छ।

सञ्चार, सूचना तथा प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले मंगलबार आयोजित पत्रकार सम्मेलनमा सरकारको प्रष्टिकरण दिएका हुन्। उनले सरकारका निर्णयमा असहमति जनाउने अधिकार सबैलाई रहेको भन्दै त्यसलाई अन्यथा नलिइएको बताए।

“सरकारका निर्णयमा असहमति जनाउने अधिकार छ, वक्तव्य दिन सकिन्छ। त्यसलाई हामीले अन्यथा मानेका छैनौं,” मन्त्री गुरुङले भने।

उनका अनुसार सरकारले सुशासनका लागि कुलमान घिसिङलाई हटाउने निर्णय गरेको हो। “मन्त्रिपरिषद्ले अहिलेको आवश्यकतालाई मध्यनजर गर्दै निर्णय गरेको हो,” उनले भने, “सरकारले कार्यसम्पादनमा प्राप्त अधिकार प्रयोग गरेको मात्र हो।”

लोकतान्त्रिक व्यवस्थामा असहमति जनाउने अधिकार सुरक्षित रहेको उल्लेख गर्दै उनले विरोध प्रदर्शनलाई नाफा–नोक्सानको रूपमा नहेरिनुपर्ने बताए। “लोकतन्त्रमा मानिसहरू सडकमा निस्किन सक्छन्। सरकारका निर्णयमा असहमति जनाउने र सहमति जनाउने अधिकार सबैलाई छ,” मन्त्री गुरुङले भने।

यस विषयमा सत्ता साझेदार दल नेपाली कांग्रेस नै विभाजित देखिएको छ। प्रमुख प्रतिपक्षी दलहरू विरोध प्रदर्शनमा उत्रिरहँदा मन्त्री गुरुङले सरकारले आफ्नो अधिकार प्रयोग गरी निर्णय लिएको स्पष्ट पारे।

सम्बन्धित समाचार

सबै