प्रधानमन्त्री कप: नेपाल पुलिस क्लब फाइनलमा, ललित राजवंशीको कीर्तिमान

235 Shares

नेपाल पुलिस क्लब प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ। पुलिसले लगातार आठौं जीत दर्ता गर्दै एक खेल बाँकी रहँदै फाइनलमा स्थान सुरक्षित गरेको हो।

दाङको देउखुरी रंगशालामा भएको खेलमा पुलिसले कर्णाली प्रदेशलाई ४४ रनले पराजित गर्‍यो। १४८ रनको लक्ष्य पछ्याएको कर्णाली २४ ओभरमा १०३ रनमै अलआउट भयो। कर्णालीका रविन्द्र शाहीले ४९ तथा अर्जुन घर्तीले ३० रन बनाए। पुलिसका ललित राजवंशीले उत्कृष्ट प्रदर्शन गर्दै ६ विकेट लिए।

यससँगै ललित प्रधानमन्त्री कप क्रिकेटमा १०० विकेट लिने पहिलो बलर बनेका छन्। उनले ४२ खेलमा यो कीर्तिमान बनाए। यो सूचीमा त्रिभुवन आर्मी क्लबका शाहब आलम दोस्रो स्थानमा छन्। उनले ४८ खेलमा ९९ विकेट लिएका छन्।

यसअघि टस हारेर ब्याटिङ गरेको पुलिस ४८ ओभरमा १४७ रनमै समेटियो। अर्जुन साउदले ३६ तथा दिलिप नाथले ३४ रन बनाए। कर्णालीका अनुज चनाराले ४ विकेट लिए। जीतसँगै पुलिस १६ अंकसहित तालिकाको शीर्ष स्थानमा पुगेको छ, भने कर्णाली ९ खेलमा ८ अंकसहित पाँचौं स्थानमा छ।

अर्को खेलमा मधेश प्रदेशले रुपन्देहीको एक्स्ट्राटेक ओभल मैदानमा सुदूरपश्चिम प्रदेशलाई ४४ रनले पराजित गर्‍यो। मधेशले दिएको १०३ रनको लक्ष्य पछ्याउने क्रममा सुदूरपश्चिम २९ ओभरमा ५८ रनमै अलआउट भयो। सुदूरपश्चिमका हेमन्त धामीले १९ रन बनाए भने मधेशका विशाल पटेलले ६ विकेट लिए।

यसअघि मधेशले ४२.३ ओभरमा सबै विकेट गुमाउँदै १०२ रन बनाएको थियो। मधेशका प्रदीप पासवन २३ रनमा अविजित रहे। सुदूरपश्चिमका हेमन्त धामी र शेर मल्लले समान ४/४ विकेट लिए। मधेशले ८ खेलमा ६ अंक जोडेको छ भने सुदूरपश्चिमको ९ खेलमा ६ अंक छ।

सम्बन्धित समाचार

सबै