पूर्वराजा ज्ञानेन्द्र शाहको राजनीतिक सक्रियताबारे आठ अधिकारकर्मीहरूको आपत्ति

79 Shares

काठमाडौं । विभिन्न क्षेत्रमा सक्रिय आठ जना नागरिक अगुवाले पूर्वराजा ज्ञानेन्द्र शाहले राजसंस्था पुनःस्थापनाको मनसायका साथ राजनीतिक सक्रियता बढाएको भन्दै आपत्ति जनाएका छन् । मानव अधिकारकर्मी तथा नागरिक समाजका अगुवाहरूले पूर्वराजा ज्ञानेन्द्र शाहले राजगद्दीमा पुनः स्थापित हुन भारतको नेतृत्वसँग पहल गरेको कतैबाट नलुकेको ठोकुवा गरेका छन् ।

आज (सोमबार) आठ अधिकारकर्मी तथा नागरिक समाजका अगुवाहरूले विज्ञप्ति नै जारी गरेर यस्तो बताएका हुन् । ‘ज्ञानेन्द्र शाहले राजगद्दीमा पुनः स्थापित हुन भारतको नेतृत्वसँग पहल गरेको कतैबाट लुकेको छैन,’ विज्ञप्तिमा भनिएको छ, ‘नयाँ दिल्लीले छिमेकका साना मुलुकमाथि आफ्नो हैकम लाद्न निरन्तर प्रयास गर्दै आएकोमा नेपालमाथि त एक दशकअघि झण्डै ६ महीनाको नाकाबन्दीसमेत लगाएको स्मृतिमा छँदैछ ।’

विज्ञप्तिमा नयाँ दिल्लीको संस्थापन नेपालको संविधानसँग बेखुस रहेको र नेपाललाई हिन्दू राष्ट्रतर्फ धकेलेर त्यसको श्रेय भारतीय जनता र मतदातासामु आफूले लिन चाहेको पनि उल्लेख छ । ‘यता, उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथले भने सार्वजनिक रूपमै राजतन्त्र फर्काउने चाहना व्यक्त गर्दै आएका छन् र ज्ञानेन्द्रको उनीसँग पटक–पटक लखनऊमा भेट भएको छ,’ त्यहाँ भनिएको छ ।

केही उग्रवाम, दक्षिणपन्थी तथा दर्शनहीन अवसरवादी तप्का पूर्वराजाको साथमा हिँड्न उत्साहित रहेको पनि त्यहाँ उल्लेख गरिएको छ । विज्ञप्ति जारी गर्नेहरूमा मोहना अन्सारी, राजन कुइँकेल, कनकमणि दीक्षित, दिने त्रिपाठी, रिता परियार, सुशील प्याकुरेल, चरण प्रसाईं र हिरा विश्वकर्मा छन् ।

सम्बन्धित समाचार

सबै