
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा भएको छलफलमा प्रमुख दलका तीन शीर्ष नेताहरू सङ्क्रमणकालीन न्यायको प्रक्रिया अघि बढाउन सिफारिश समिति पुनः गठन गर्ने सहमतिमा पुगेका छन्।
बैठकपछि प्रधानमन्त्रीका विज्ञ सल्लाहकार अग्नि खरेलका अनुसार सत्य निरूपण तथा बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगमा पदाधिकारी सिफारिश गर्न समिति गठन प्रक्रिया अघि बढाइने निर्णय भएको छ।
यसअघि पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको नेतृत्वमा गठन भएको समितिले कुनै पनि पदाधिकारीको नाम सिफारिश गर्न नसकेपछि समितिको म्याद सकिँदा सङ्क्रमणकालीन न्याय प्रक्रिया अवरुद्ध भएको थियो।
छलफलमा प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत गृहमन्त्री रमेश लेखक, माओवादी नेता शक्ति बस्नेत, खिमलाल देवकोटा र प्रधानमन्त्रीका विज्ञ सल्लाहकार खरेल सहभागी थिए।