काठमाडौं : संघीय लोकतान्त्रिक गणतन्त्र जनताको संघर्षको उपलब्धि – राष्ट्रपति पौडेल

247 Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्र नेपाली जनताले रगत बगाएर प्राप्त गरेको उपलब्धि भएको बताएका छन्। सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाको नयाँ प्रशासकीय भवन उद्घाटन समारोहमा बोल्दै उनले जनताले शासनमा बसेर गल्ती गर्नेहरूलाई दण्डित गर्ने अधिकार पाएको उल्लेख गरे।

राष्ट्रपति पौडेलले शासन व्यवस्थालाई बलियो बनाउन सरकार, राजनीतिक दल र नागरिक सबैको भूमिका महत्त्वपूर्ण रहेको बताए। उनले भने, ‘संविधानबाहिरको निरंकुशता वा अराजकता नेपाली जनताले कहिल्यै स्वीकार्दैनन्। १०४ वर्षको राणा शासन, ३० वर्षको पञ्चायत वा सक्रिय राजतन्त्र— कुनै पनि निरंकुशताप्रति जनताले सहमति जनाएनन्। संघीय लोकतान्त्रिक गणतन्त्र हजारौंको संघर्ष, त्याग र बलिदानको फल हो।’

सभामुख हुँदा पूर्वी पहाडमा पैदल यात्रा गरेको स्मरण गर्दै उनले टिम्बुरबोटे पुग्दा भिजेको अनुभव सुनाए। टिम्बुरबोटे २०४१ मा पञ्चायती सरकारले प्रजातान्त्रिक योद्धाहरूको हत्या गरेको स्थान हो। भावुक हुँदै उनले युवाको विदेश पलायन रोक्न शिक्षा, स्वास्थ्य, उद्योग, उत्पादन वृद्धि र रोजगारीका अवसर गाउँमै सिर्जना गर्नुपर्ने बताए।

संघीयता कार्यान्वयनका लागि तीन तहका सरकारहरू सक्रिय रहेको बताउँदै उनले सिंहदरबारको अधिकार गाउँसम्म पुगेको उल्लेख गरे। उनले भने, ‘संविधानको भावनाअनुसार स्थानीय सरकारले जिम्मेवारीपूर्वक काम गर्नुपर्छ।’

राष्ट्रपति पौडेलले कृषि, जलस्रोत, पर्यटन, पूर्वाधार र उद्योगलाई मुलुकको समृद्धिको आधार बताउँदै सोलु र दूधकोशी नदी क्षेत्रका जलविद्युत् आयोजना आर्थिक विकासका लागि महत्त्वपूर्ण हुने बताए। उनले सगरमाथा क्षेत्रको हिमाल आरोहण, पदयात्रा र साहसिक पर्यटनले अर्थतन्त्रमा ठूलो योगदान गरेको उल्लेख गरे।

अपर सगरमाथा मार्ग निर्माणमा आफ्नो संलग्नता स्मरण गर्दै उनले देशको पूर्वाधार विकासमा लोकतन्त्रले महत्वपूर्ण परिवर्तन ल्याएको बताए। ‘हिजो नुन र तेलका लागि भारी बोकेर हिंड्नुपर्थ्यो, आज त्यो अवस्था लोकतन्त्रले परिवर्तन गरिदिएको छ। यो उपलब्धि हामीले कहिल्यै बिर्सनु हुँदैन,’ उनले भने।

सम्बन्धित समाचार

सबै