काठमाडौं । नेपाली कांग्रेसको कार्यसम्पादन समिति बैठक निर्धारित समयभन्दा करिब तीन घण्टा ढिलो गरी सुरु भएको छ। आइतबार दिउँसो १ बजेका लागि तय गरिएको बैठक अपराह्न करिब पौने ४ बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको हो।
बैठकमा भ्रातृसंस्थाको म्याद थप्ने वा महाधिवेशनको मिति सार्ने विषयमा छलफल भइरहेको छ। यसअघि, नेताहरूबीच छुट्टाछुट्टै छलफल भएको थियो, भने सभापति शेरबहादुर देउवाले डडेलधुराका कांग्रेस नेताहरूसँग लामो परामर्श गरेका थिए।
भ्रातृसंस्थाहरूको महाधिवेशन चैत मसान्तसम्म गराउने समयसीमा तोकिएको थियो। तर, प्रमुख भ्रातृसंस्थाहरूको महाधिवेशन नहुने भएपछि नयाँ पदाधिकारी नियुक्त गर्ने वा म्याद थप्ने विषय बैठकको प्रमुख एजेन्डा बनेको छ।
त्यसैगरी, गणतन्त्रविरुद्ध देखिएको जनमतसहित समसामयिक राजनीतिक विषयमा पनि बैठकमा छलफल हुने कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए।