पाटन संयुक्त क्याम्पसमा नेविसंघ र अनेरास्ववियुबीच झडप, मतदान प्रक्रिया रोकियो

206 Shares

काठमाडौं । पाटन संयुक्त क्याम्पसमा स्ववियु निर्वाचनको क्रममा नेपाल विद्यार्थी संघ (नेविसंघ) र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का कार्यकर्ताबीच कुटाकुट भएको छ।

मंगलबार फर्जी मतदाताले मतदान गरेको आरोपपछि विवाद सुरु भएको थियो। झडपमा अनेरास्ववियुका चार जना नेता घाइते भएका छन्। घाइतेहरूमा दिनेश श्रेष्ठ, पवन शाही, राजीव अधिकारी र समिक राई रहेका छन्। श्रेष्ठ र शाही गम्भीर घाइते भएको बताइएको छ।

अनेरास्ववियु अध्यक्ष समिक बडालका अनुसार फर्जी मत रोक्न खोज्दा नेविसंघले आक्रमण गरेको आरोप छ। प्रहरीका अनुसार एक विद्यार्थीको परिचयपत्रमार्फत सात जनाले मतदान गरेको पाइएपछि विवाद चर्किएको हो। करिब १०० जनाले मतदान गरिसकेपछि स्थिति तनावपूर्ण बनेपछि मतदान प्रक्रिया रोकिएको थियो।

तनाव बढ्दै जाँदा क्याम्पस परिसर बाहिर फलामका रड, लाठी र क्रिकेट ब्याट बोकेका युवाहरू देखिएको प्रहरीले जनाएको छ। एसपी नरहरि रेग्मीका अनुसार एक व्यक्तिले हेलमेट प्रहार गर्दा एक जना गम्भीर घाइते भएका छन्। उनले स्थिति नियन्त्रणमा लिन पर्याप्त संख्यामा प्रहरी परिचालन गरिएको बताए।

निर्वाचन परिसर तनावग्रस्त बनेपछि हाल निर्वाचन समितिको बैठक जारी छ। अनेरास्ववियु लगायतका विद्यार्थी संगठनहरूले मतदान प्रक्रियाबाट बाहिरिएको घोषणा गरेका छन् भने नेविसंघले अनेरास्ववियुले हारको डरले चुनाव विथोल्न खोजेको आरोप लगाएको छ।

सम्बन्धित समाचार

सबै