
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गणतन्त्र स्थापनामा पूर्वराजा ज्ञानेन्द्र शाह ‘भिलेन’ का रूपमा भूमिका खेलेको टिप्पणी गरेका छन्।
आज (मंगलबार) काठमाडौंमा आयोजित कार्यक्रममा प्रचण्डले गणतन्त्रका लागि आधार तयार पार्ने काम आफूहरूले गरेको तर तत्कालीन राजा ज्ञानेन्द्र शाहको निर्णयले पनि त्यसलाई तीव्र बनाएको बताए। ‘ज्ञानेन्द्रले मूर्खतापूर्वक पनि हामीलाई सहयोग गरेका छन्’, उनले भने, ‘उनले सात दलमाथि दमन नगरेको भए, नेताहरूलाई आफू पछि लाग्छौँ भन्दा लात्ताले नहानेको भए राजतन्त्र अझै केही वर्ष टिक्न सक्थ्यो।’
उनले नेपाली जनतालाई सचेत बनाउन, थप अधिकार सम्पन्न बनाउन र समाजवादी क्रान्तिको यात्रामा अघि बढ्न शाहकै कदमले नयाँ आधार तयार गरेको उल्लेख गरे। साथै, अहिले फेरि राजतन्त्र पुनःस्थापनाको ‘कलाविहीन नाटक’ प्रदर्शन भइरहेको टिप्पणी गरे।
‘हिरो मात्रै होइन, भिलेनको भूमिका पनि कथामा महत्वपूर्ण हुन्छ,’ उनले भने, ‘भिलेन सक्रिय भएन भने हिरो पनि सफल हुँदैन। भिलेन खतरनाक भएर आयो भने तागतका साथ काम गर्नुपर्छ।’
यस क्रममा अध्यक्ष प्रचण्डले हाल संविधान संशोधनभन्दा पहिला समीक्षाको आवश्यकता रहेको धारणा राखे। उनले सबै शक्ति एक ठाउँमा आएर समीक्षात्मक बहस गरेपछि मात्रै संविधान संशोधनले सही दिशा लिन सक्ने बताए।