काठमाडौं । राप्रपाका सांसद दीपकबहादुर सिंहले नेपालमा यौन व्यवसायलाई कानुनी मान्यता दिने विचारप्रति कडा आपत्ति जनाएका छन्। सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सरकारकै सांसदबाट यस्तो प्रस्ताव आउनु आपत्तिजनक भएको बताए।
सांसद सिंहले देशका युवाहरू रोजगार र अध्ययनका लागि विदेशिइरहेका बेला मात्र महिलाहरू रहेको उल्लेख गर्दै नेपाल प्रकृतिको सुन्दर देश भएको धारणा राखे। जलस्रोतको धनी देशमा पर्यटन विकास गर्न यौन व्यवसायलाई कानुनी मान्यता दिन खोज्नु गलत भएको उनको भनाइ छ। साथै, उनले ‘यही दिनका लागि राजा फालिएको हो?’ भनेर प्रश्नसमेत गरे।
सांसद सिंहले नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले संसदमा यौन व्यवसाय कानुनी मान्यता पाए आर्थिक लाभ हुने बताएका कुरालाई मर्यादाहीन भन्दै आपत्ति जनाए। उनले घिमिरेको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन र उनलाई सचेत गराउन माग गरे।
त्यसैगरी, सांसद सिंहले एमाले सांसद रघुजी पन्तले राप्रपाका सांसद ज्ञानेन्द्रबहादुर शाहीमाथि अपशब्द प्रयोग गरेको भन्दै आपत्ति जनाए। उनले संसदमा एक अर्कालाई सम्मानजनक व्यवहार अपनाउनुपर्नेमा जोड दिँदै, पन्तको अभिव्यक्ति रेकर्डबाट हटाइनुपर्ने माग गरे।
आइतबारको बैठकमा एमाले सांसद पन्तले पूर्वराजाहरूको आलोचना गरेपछि सांसद शाहीले विरोध जनाएका थिए। पन्तले राजाकालमा भएका घटनाले देशलाई अन्धकारतर्फ धकेलेको बताएपछि सांसद शाहीले आधारहीन कुरा नगर्न भनेका थिए। त्यसपछि पन्तले इतिहास पढेर बहस गर्न आउन चेतावनी दिएका थिए।