सगरमाथा संवादका लागि ३५० भन्दा बढी प्रतिष्ठित व्यक्तिलाई निमन्त्रणा

244 Shares

काठमाडौँ – नेपाल सरकारले ‘सगरमाथा संवाद’ का लागि विश्वभरका ३५० भन्दा बढी प्रतिष्ठित व्यक्तिलाई निमन्त्रणा गर्ने भएको छ।

आइतबार आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयका सचिव अमृत राईले सगरमाथा संवादबारे जानकारी दिँदै १५० देखि १७५ राष्ट्र प्रमुखको सहभागिता रहने अपेक्षा गरिएको बताए। आगामी वर्ष २०८२ जेठ २ देखि ४ गतेसम्म काठमाडौंमा हुने संवादका लागि विदेशस्थित नेपाली राजदूतावास तथा नेपालमा रहेका विभिन्न देशका दूतावासमार्फत निमन्त्रणा पठाइएको उनले जानकारी गराए।

नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालले हिमाल र जलवायु परिवर्तनका मुद्दामा नेपालले नेतृत्व लिने उद्देश्यले सगरमाथा संवाद अघि बढाइएको बताए। उनका अनुसार वातावरणीय विनाशका कारण नेपालले व्यहोरेका क्षतिको अन्तर्राष्ट्रिय मञ्चमा आवाज उठाउँदै ‘लस एण्ड ड्यामेज’ (हानि तथा क्षति) सम्बन्धी अधिकारको मागलाई प्राथमिकता दिइनेछ।

सगरमाथा संवादको पहिलो दिन हिमनदी संरक्षण, उच्च पहाडी क्षेत्र र टापुबीचको सम्बन्ध, खाद्य सुरक्षा तथा कृषि पुनरोत्थानबारे छलफल हुनेछ। दोस्रो दिन जलवायुजन्य प्रकोप न्यूनीकरण, पुनरोत्थान तथा हिमाल संरक्षणका प्रयासबारे समीक्षा गरिनेछ। तेस्रो दिन सहभागीहरूलाई विशेष हवाइ उडानमार्फत सगरमाथा क्षेत्र अवलोकन गराइने कार्यक्रम छ।

सरकारले सगरमाथा संवादलाई उच्च प्राथमिकतामा राख्दै तयारीलाई तीव्र बनाएको जनाएको छ।

सम्बन्धित समाचार

सबै