काठमाडौँ – आउँदो जेठ २ गतेदेखि ४ गतेसम्म आयोजना हुने ‘सगरमाथा संवाद’ कार्यक्रममा विभिन्न देशका ३५० भन्दा बढी व्यक्तिलाई निमन्त्रणा गरिने भएको छ।
परराष्ट्र मन्त्रालयका सचिव अमृत राईका अनुसार निमन्त्रितमध्ये १५० भन्दा धेरै व्यक्तिले सहभागिता जनाउने अपेक्षा गरिएको छ। निमन्त्रणाका लागि विदेशस्थित नेपाली राजदूतावासहरू तथा नेपालस्थित सम्बन्धित देशका राजदूतावासहरू प्रयोग गरिएको बताइएको छ।
नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालले जलवायु परिवर्तन र हिमाली क्षेत्रका मुद्दाहरूलाई नेपालले नेतृत्व गर्ने गरी सगरमाथा संवाद अघि बढाइएको जानकारी दिनुभयो।
संवादको पहिलो दिन हिमनदी संरक्षण, टापुहरूलाई उच्च पहाडी क्षेत्रसँग जोड्ने उपाय, खाद्य सुरक्षा, कृषि पुनरोत्थान, तथा पहाडी समुदायद्वारा प्रवर्द्धित क्रियाकलापबारे छलफल हुनेछ। दोस्रो दिन जलवायुजन्य प्रकोप, जोखिम न्यूनीकरण, पुनरोत्थान, तथा हिमाली क्षेत्रको क्षति न्यूनीकरणमा भएका प्रयासहरूबारे विमर्श गरिनेछ। तेस्रो दिन सहभागीहरूलाई हवाई यात्रामार्फत सगरमाथा क्षेत्रको अवलोकन गराइने कार्यक्रम छ।