संसदको हिउँदे अधिवेशन चैत तेस्रो साता अन्त्य हुने

203 Shares

काठमाडौं । सरकारले संसदको हिउँदे अधिवेशन चैत तेस्रो साता अन्त्य गर्ने तयारी गरेको छ। सभामुख देवराज घिमिरे अन्तर व्यवस्थापिका संघ (आईपीयू) सम्मेलनमा सहभागी हुन चैत २२ गते उज्वेकिस्तान जाने कार्यक्रम रहेकाले त्यसअघि नै अधिवेशन अन्त्य गर्न लागिएको हो।

आईपीयू सम्मेलन चैत २३ देखि २७ गतेसम्म हुने भएकाले सरकारले चैत २० गते अधिवेशन अन्त्य गर्ने योजना बनाएको स्रोतले जनाएको छ। हिउँदे अधिवेशन गत माघ १८ गते सुरु भएको थियो।

सभामुख विदेश जानुअघि नै संघीय संसदका दुवै सदनबाट पाँच वटा प्रतिस्थापन विधेयक पारित गरी राष्ट्रपतिबाट प्रमाणीकरण गरिसक्ने तयारी गरिएको छ। सम्भवतः चैत १८ गते प्रमाणीकरणपछि अधिवेशन अन्त्य गरिनेछ।

यस अधिवेशनमा सरकारले छ वटा अध्यादेश जारी गरेकोमा भूमिबाहेकका पाँच अध्यादेश प्रतिस्थापन विधेयकमार्फत् संशोधन प्रक्रिया अघि बढाइएको छ। संघीय संसद सचिवालयका अनुसार हाल १२ विधेयक विचाराधीन छन्।

हिउँदे अधिवेशनपछि बजेट अधिवेशन सुरु हुने भएकाले चैत तेस्रो साताभित्र अधिवेशन अन्त्य गर्ने तयारी गरिएको हो। बजेट प्रस्तुत हुनु एक महिना अगाडि प्रि-बजेट छलफल गरिनुपर्ने तथा दुई अधिवेशनबीच कम्तीमा १५ दिनको अन्तराल आवश्यक पर्ने संवैधानिक व्यवस्थाका कारण चैत तेस्रो साता नै अधिवेशन अन्त्य गर्न लागिएको हो।

सम्बन्धित समाचार

सबै