काठमाडौं । नेपाली कांग्रेसका नेता तथा चिकित्सक संघका पूर्वअध्यक्ष डा. केदारनरसिंह केसीले आफूले कुनै सरकारी जग्गा कब्जा नगरेको स्पष्ट पारेका छन्।
शनिबार तारकेश्वर नगरपालिका–९, मनमैजुस्थित लोकतान्त्रिक चोकमा आयोजित पत्रकार सम्मेलनमा उनले आफ्नो सार्वजनिक छवि बिगार्न नियोजित रूपमा आरोप लगाइएको दाबी गरे।
उनका अनुसार कित्ता नम्बर ६२ आफ्नै नाममा रहेको र कित्ता नम्बर ६३ सरकारको स्वामित्वमा रहेको छ। साथै, कित्ता नम्बर ६१ उनकी श्रीमतीको नाममा रहेको र उक्त जग्गा सार्वजनिक सडकका लागि सट्टापट्टा गरेर कित्ता नम्बर ६२ आफूले लिएको स्पष्ट पारे।
सरकारी जग्गा आफूलाई नचाहिने र कुनै पनि प्रकारको दुरुपयोग हुन नदिने प्रतिबद्धता व्यक्त गर्दै उनले सरकारी सम्पत्तिको संरक्षणमा आफू सजग रहेको बताए।
केही दिनअघि प्रतिनिधिसभा बैठकमा रास्वपा सांसदहरू सुमना श्रेष्ठ र शिशिर खनालले लोकतान्त्रिक चोकको सरकारी जग्गा कांग्रेस नेताले कब्जा गरेको आरोप लगाएका थिए। तर, डा. केसीले ती आरोपहरू प्रमाणविहीन रहेको भन्दै आफू नडराउने प्रतिक्रिया दिए।