काठमाडौं – समाजवादी मोर्चाले प्रतिगमन र प्रतिक्रियावादीको षड्यन्त्र विफल पार्न न्यायप्रेमी जनसमुदायलाई एकजुट हुन अपिल गरेको छ। शनिबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा नेकपाका नेता खड्गबहादुर विश्वकर्माले सम्पूर्ण देशभक्त तथा गणतन्त्रवादी शक्तिहरूलाई एकताबद्ध भएर प्रतिगमनको सामना गर्न आग्रह गरे।
मोर्चाले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको विकासमा अवरोध आएको, सरकार अलोकतान्त्रिक रवैयामा अघि बढेको र जनतामा निराशा बढ्दै गएको आरोप लगाएको छ। भ्रष्टाचार, कमिसन र कालोबजारीले अर्थतन्त्र संकटग्रस्त बनेको बताउँदै सरकारले बिचौलिया र दलालहरूको स्वार्थमै ध्यान दिएको आरोप लगाइएको छ।
सरकारले अध्यादेशमार्फत शासन चलाउने, सदनलाई छल्ने र महत्त्वपूर्ण विधेयकलाई नियन्त्रणमा राख्ने प्रवृत्ति देखाएको विश्वकर्माले बताए। गणतन्त्रप्रति जनतामा असन्तुष्टि बढ्दै गएको र त्यसलाई राजतन्त्र पुनर्स्थापनाका लागि प्रयोग गर्ने षड्यन्त्र भइरहेको उनको दाबी छ।
गणतन्त्रको रक्षा तथा राष्ट्रिय स्वाधीनता सुनिश्चित गर्न समाजवादी मोर्चाले २०८१ चैत १५ गते काठमाडौंमा विरोध प्रदर्शनसहितको जनसभा आयोजना गर्ने घोषणा गरेको छ। मोर्चाले सो सभामा सहभागिता जनाएर गणतन्त्रविरोधी षड्यन्त्रलाई विफल पार्न सबै न्यायप्रेमी जनसमुदायलाई आह्वान गरेको छ।