विद्युत नियमन आयोगकी सदस्य भागिरथी भट्टराई ज्ञवालीको शपथग्रहण

280 Shares

काठमाडौं । विद्युत नियमन आयोगकी सदस्य भागिरथी भट्टराई ज्ञवालीले दोस्रो कार्यकालका लागि शपथ ग्रहण गरेकी छन् । फागुन २६ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार नियुक्त भट्टराईले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको उपस्थितिमा आज मन्त्रालयमा शपथ लिएकी हुन् । उनलाई आयोगका अध्यक्ष रामप्रसाद धितालले शपथ ग्रहण गराए ।

२०७६ सालदेखि २०८१ वैशाखसम्म आयोगको सदस्य रहेकी भट्टराई आयोग स्थापनाकालदेखि नै यस संस्थामा संलग्न छिन् । उनले विद्युत् उपभोक्ता हक, हित तथा संरक्षण समितिको संयोजकका रूपमा पनि काम गरिसकेकी छन् । त्यसअघि, २०६९ देखि २०७३ सम्म खानेपानी महसुल निर्धारण आयोगको सदस्य रहेकी उनले ग्लोबल आइएमई बैंकमा स्वतन्त्र सञ्चालकको भूमिकासमेत निर्वाह गरेकी थिइन् ।

शपथग्रहण समारोहमा मन्त्री खड्काले नियमन आयोगले ढिलो भए पनि पूर्णता पाएको उल्लेख गर्दै विद्युत् उत्पादन वृद्धिसँगै नियमनकारी निकायको भूमिका थप महत्वपूर्ण बनेको बताए । सरकारले सन् २०३५ सम्म २८,५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको बताउँदै उनले प्रसारण लाइनमा निजी क्षेत्रलाई सहभागी गराउने प्रक्रियामा आयोगले शुल्क निर्धारणको विषय चाँडो टुङ्गो लगाउनुपर्नेमा जोड दिए ।

ऊर्जा मन्त्रालयका सचिव सुरेश आचार्यले नियमनकारी निकायको बढ्दो भूमिकालाई दृष्टिगत गर्दै आयोगमा कार्यरत व्यक्तिहरूले आफ्नो ज्ञान, सीप र क्षमता अधिकतम रूपमा प्रयोग गर्नुपर्ने बताए । आयोगका अध्यक्ष धितालले ऊर्जा विकासका लक्ष्य पूरा गर्न आयोगले सक्रिय रूपमा काम गरिरहेको उल्लेख गरे । कार्यक्रममा सिँचाइ सचिव सरिता दवाडी, वरिष्ठ ऊर्जाविज्ञ प्रबल अधिकारी, विद्युत् विकास विभागका महानिर्देशक नवीनराज सिंह, आयोगका सदस्यहरू लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

सबै