कैलाली । सुदूरपश्चिम प्रदेशमा कार्यकाल सकिन लागेका विभिन्न राजनीतिक नियुक्ति तत्काल पूरा गर्न सत्ता साझेदार नेपाली कांग्रेस र एमाले सहमत भएका छन्। प्रदेश सरकारलाई अझ प्रभावकारी बनाउन गठबन्धनको प्रदेशस्तरीय राजनीतिक संयन्त्रको बैठकमा छलफल भएको हो।
मुख्यमन्त्री कमलबहादुर शाहको सरकारी निवासमा बसेको संयन्त्रको दोस्रो बैठकले प्रदेश सरकारको प्रभावकारिता बढाउने, राजनीतिक नियुक्ति छिटो टुंग्याउने, जनअपेक्षा अनुरूप आगामी आर्थिक वर्षको बजेट तयार गर्ने विषयमा छलफल गरेको नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश समितिका प्रवक्ता सुरत रावतले जानकारी दिए।
बैठकले राजनीतिक नियुक्तिका बेला गठबन्धनमा कुनै असमझदारी नहोस् भन्नका लागि योजना तयार गर्ने जिम्मा मुख्यमन्त्री शाह र पूर्व मुख्यमन्त्री तथा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावललाई दिएको छ। प्रदेशका अस्पताल, खेलकुद परिषद्, युवा परिषद्, पर्यटन विकास बोर्ड तथा प्रज्ञा प्रतिष्ठानमा रिक्त पदहरू चाँडै भर्ने सहमति भएको छ।
बैठकमा कांग्रेसतर्फबाट प्रदेश सभापति वीरबहादुर बलायर, मुख्यमन्त्री शाह, प्रदेश उपसभापति लोकराज अवस्थी, प्रवक्ता सुरत रावत तथा एमालेतर्फबाट केन्द्रीय सचिव एवं प्रदेश इन्चार्ज लेखराज भट्ट, नेता राजेन्द्रसिंह रावल र प्रदेश अध्यक्ष कृष्णप्रसाद जैशी सहभागी थिए। बैठकको अध्यक्षता कांग्रेस सभापति बलायरले गरेका थिए।
पूर्व मुख्यमन्त्री रावलले आगामी बजेटलाई दीर्घकालीन र गौरवपूर्ण योजनामा केन्द्रित गर्नुपर्ने बताए। मुख्यमन्त्री शाहले सुधारका केही प्रयास गरिसकेको उल्लेख गर्दै आगामी बजेट अझ प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गरे। एमाले केन्द्रीय सचिव भट्टले सत्ता साझेदारबीच समन्वय गरेर काम गर्नुपर्ने सुझाव दिए।
प्रदेश सरकारलाई अझ प्रभावकारी बनाउन गठबन्धनका नेताहरू पालिका तहसम्म संयन्त्र विस्तार गर्नुपर्ने निष्कर्षमा पुगेका छन्। संयन्त्रको बैठक यसअघि पुस ८ गते बसेको थियो।