माओवादी अध्यक्ष प्रचण्ड आज रुपन्देहीमा विभिन्न कार्यक्रममा सहभागी

167 Shares

रुपन्देही – प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत माओवादी पदाधिकारीहरू आज विभिन्न कार्यक्रममा सहभागी हुन रुपन्देही आउँदै छन्।

प्रचण्डसहितका नेताहरू मगर राष्ट्रिय मुक्ति मोर्चाको छैठौं राष्ट्रिय सम्मेलन लगायतका कार्यक्रमलाई सम्बोधन गर्न रुपन्देही आउन लागेका हुन्। उनीहरू बिहान १०:३० बजे भैरहवा विमानस्थल ओर्लेर ओमसतिया गाउँपालिका–६ स्थित जमुहानी तालमा बन्ने पार्क शिलान्यास गर्ने कार्यक्रम छ।

प्रचण्डले दिउँसो १२:३० बजेसम्म बुटवल ज्योतिनगरमा पहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्ने र १ बजे बुटवलको ट्राफिक चोकमा मगर मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्नेछन्।

सम्मेलनमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देवप्रसाद गुरुङ, उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मा, सचिव चक्रपाणी खनाल, पूर्व सभामुख ओनसरी घर्ती लगायतका नेताहरूको उपस्थिति रहनेछ।

त्यसपछि दिउँसो ३:३० देखि ४ बजेसम्म प्रचण्ड सैनामैनाको मुर्गिया रंगशालामा जारी सैनामैना गोल्डकपका विजेता टिमलाई पुरस्कार वितरण गर्न जानेछन्। उनी आजै साँझ काठमाडौं फर्किने कार्यतालिका रहेको छ।

सम्बन्धित समाचार

सबै