प्रतिनिधि सभाको बैठक बस्दै, ११ विधेयक पेश हुने

226 Shares

काठमाडौं – प्रतिनिधि सभाको बैठक आज (बुधबार) बिहान ११ बजे नयाँ बानेश्वरमा बस्दैछ। संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार बैठकमा विभिन्न ११ विधेयक पेश गर्ने कार्यसूची रहेको छ।

बैठकमा ‘सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१’, ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक २०८१’, ‘निजीकरण पहिलो संशोधन विधेयक २०८१’, ‘आर्थिक तथा व्यवसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१’, ‘सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१’ लगायतका विधेयकमा सांसदबाट प्राप्त विरोधको सूचना निर्णयार्थ पेश गरिनेछ।

गत पुस २६ गते मन्त्रिपरिषद बैठकले अध्यादेश जारी गर्न सिफारिस गरेपछि फागुन २१ र २२ गते प्रतिनिधि सभा र राष्ट्रिय सभाले पाँच वटै अध्यादेश पारित गरेका थिए। ती अध्यादेश प्रतिस्थापन गर्न सरकारले विधेयक कार्यसूचीमा राखेको हो।

भूमिसम्बन्धी अध्यादेश प्रतिस्थापन गर्ने विधेयक भने सरकारले हालसम्म पेश गरेको छैन। त्यस्तै, गृहमन्त्री रमेश लेखकले ‘सशस्त्र प्रहरी बल, नेपाल विधेयक २०८१’ दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ।

सम्बन्धित समाचार

सबै