मोरङ – प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्दै सरकार सुशासन र समृद्धिको मार्गमा तीव्र गतिमा अघि बढिरहेको बताउनुभएको छ।
कोशी प्रदेशसभामा आज विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नागरिकको बलिदानी र सङ्घर्षबाट प्राप्त संविधानको रक्षा गर्दै आवश्यकतानुसार संशोधन गर्दै जाने जानकारी गराउनुभयो। उहाँले प्रतिस्पर्धात्मक प्रणाली भएकाले व्यवस्थाविरोधी आवाज उठाउनु आवश्यक नभएको स्पष्ट पार्दै शान्तिपूर्ण रूपमा संविधानसम्मत मार्गबाट देशलाई उन्नत बनाउन सकिने धारणा राख्नुभयो।
“हामी गरिबी हटाएर मात्रै सन्तुष्ट हुँदैनौँ, समग्र मानवीय आवश्यकताको परिपूर्ति गर्दै देशलाई अघि बढाउन चाहन्छौँ। रोजगारी सिर्जना र उद्यमशीलतामा जोड दिन आवश्यक छ,” प्रधानमन्त्री ओलीले भन्नुभयो। उहाँले तीनै तहका सरकारले सहकार्य गर्दै विकासमा अघि बढ्नुपर्नेमा जोड दिनुभयो।
प्रधानमन्त्री ओलीले नेपाललाई भौगोलिक, सांस्कृतिक र जातीय विविधताबीच एकता कायम गर्दै विश्वमानचित्रमा सार्वभौम, लोकतान्त्रिक र समृद्ध राष्ट्रका रूपमा स्थापित गर्न सबैले आ–आफ्नो भूमिकामा सक्रिय रहनुपर्ने उल्लेख गर्नुभयो।
यसअघि, प्रधानमन्त्री ओलीले पूर्वाञ्चल विश्वविद्यालयको १३औं दीक्षान्त समारोहलाई सम्बोधन गर्नुभएको थियो, जहाँ ८,१५० जना विद्यार्थी दीक्षित भएका छन्।