ललितपुर सिटी एफसीका प्रशिक्षक ग्रेसनसहित दुई जना खेलाडी नेपाल आइपुगे

49 Shares

काठमाण्डौ – नेपाल सुपर लिग (एनएसएल) को साविक विजेता ललितपुर सिटी एफसीका प्रशिक्षक साइमन ग्रेसन नेपाल आइपुगेका छन् ।

यूएएफएका प्रो–लाइसेन्स प्राप्त प्रशिक्षक ग्रेसनलाई ललितपुरले यो सिजनका लागि अनुबन्ध गरेको हो । उनले खेल जीवनमा लामो समय लेस्टर सिटी, ब्ल्याकपुल, एस्टन भिल्ला र ब्ल्याकबर्नबाट व्यावसायिक फुटबल खेलेका थिए । उनले सन् १९९६ को इङ्लिस लिग कप जितेका थिए ।

प्रशिक्षकका रूपमा ग्रेसनले लिड्स युनाइटेडलाई इङ्ग्लिस लिगको दोस्रो डिभिजन च्याम्यिनशिपमा छनोट गराउनुका साथै लिड्स, हर्डसफिल्ड र प्रेस्टन नर्थलाई च्याम्पियनशिपमा उकालेका थिए ।

ग्रेसनले भारतको इन्डियन सुपर लिग (आईएसएल) टोली बेंगलुरु एफसीको प्रशिक्षण सम्हालेका थिए । उनको प्रशिक्षणमा बेंगलुरुले डुरान्ड कप जितेको थियो भने आईएसएल र सुपर कपको फाइनल खेलेको थियो ।

त्यस्तै ललितपुरबाट एनएसएल खेल्न प्यालेस्टिनी मिडफिल्डर जोनाथन कान्टिलाना र हाइटीका फरवार्ड केर्भेन्स बेलफोर्ट पनि नेपाल आइसकेका छन् ।

सन् २०१० देखि २०१७ सम्म हाइटीको राष्ट्रिय टोलीमा रहेका बेलफाेर्टले १४ गोल गरेका थिए । बेलफोर्टले अघिल्लो सिजन बङ्गलादेश प्रिमियर लिग क्लब कालिकट एफसीबाट खेलेका थिए ।

एशिया र मध्यपूर्वका विभिन्न शीर्ष लिगमा खेलेको अनुभव बटुलिसकेका जोनाथनलाई ललितपुरले तेस्रो विदेशी खेलाडीको रूपमा टोलीमा भित्र्याएको हो । यसपटक आउँदो चैत १६ गतेदेखि एनएसएल शुरू हुनेछ ।

सम्बन्धित समाचार

सबै