काठमाडौं – चालु आर्थिक वर्षको सात महिनामा उच्च शिक्षा अध्ययनका लागि विदेशी मुलुक जाने विद्यार्थीहरूले ठूलो मात्रामा धनराशी विदेश लगेका छन्। नेपाल राष्ट्र बैंकका अनुसार शिक्षातर्फको कुल व्यय ६४ अर्ब १५ करोड रुपैयाँ पुगेको छ।
सेवा खाताअन्तर्गत भ्रमण व्यय १०.६ प्रतिशतले वृद्धि भई १ खर्ब १५ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ। यसमध्ये शिक्षाका लागि मात्र ६४ अर्ब १५ करोड खर्च भएको छ। अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय १ खर्ब ४ अर्ब ७५ करोड रुपैयाँ थियो भने शिक्षातर्फको खर्च ६६ अर्ब ६४ करोड रुपैयाँ थियो।
त्यस्तै, सो अवधिमा खुद सेवा आय ५० अर्ब २२ करोड रुपैयाँ घाटामा रहेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ३६ अर्ब ३८ करोड रुपैयाँ घाटामा थियो। समीक्षा अवधिमा भ्रमण आय ७.७ प्रतिशतले वृद्धि भई ४९ अर्ब २१ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्ष ४५ अर्ब ६८ करोड रुपैयाँ थियो।