काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजावादीहरूको प्रदर्शनले आफूलाई कुनै असर नपारेको बताएका छन्।
आज (सोमबार) सिंहदरबारमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँगको भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले राजावादीहरूको प्रदर्शनप्रति प्रतिक्रिया जनाएका हुन्।
राजावादीहरूको प्रदर्शनले आफूलाई असर परेको छ कि छैन भन्ने प्रश्नमा प्रचण्डले भने, ‘यो प्रदर्शनले केही हल्लाएको छैन, केही भएको छैन। केको डराउनु ? त्यस्तो लडाइँको बीचमा पनि डराइएको थिएन, अहिले त झन् कुनै असर छैन।’
उनले प्रदर्शनको जिम्मेवारी सरकारले लिनुपर्ने बताए। सरकार जनताका लागि काम गर्न नसक्दा जनतामा निराशा बढ्दै गएको उनको भनाइ छ। ‘सरकार जनताको समस्यामा केन्द्रित भएको देखिँदैन। सेटिङका आधारमा आफ्नै मान्छे भर्ती गर्ने र नियुक्ति गर्ने प्रवृत्तिले जनतामा ठूलो निराशा छ। त्यसकै फाइदा प्रतिक्रियावादी शक्तिहरूले उठाइरहेका छन्।’
राजावादी प्रदर्शनको प्रतिवाद गर्न जानेबारे उनले ‘हामी सल्लाह गर्दैछौं’ भन्ने प्रतिक्रिया दिए।