
धनगढी। प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहको पछिल्लो अभिव्यक्तिप्रति असन्तुष्टि व्यक्त गरेका छन्। आइतबार सुदूरपश्चिम प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले पूर्वराजाले फागुन ६ गते सार्वजनिक गरेको अभिव्यक्तिले आफू छक्क परेको बताए।
‘संविधान र कानुन नमान्ने प्रवृत्ति बढ्दै गएको छ। म पूर्वराजाको सम्बोधन सुनेर छक्क परें,’ प्रधानमन्त्री ओलीले भने, ‘म आउँछु, देश बचाउँछु रे! देशलाई के भएको छ र बचाउन? यस्ता अस्थिर गतिविधिले देशलाई अप्ठ्यारोमा पार्ने काम भइरहेको छ।’
प्रधानमन्त्री ओलीले पूर्वराजा शाहलाई कुनै कुर्सीमा राख्दैमा शासन गर्न सकिने हो भन्ने प्रश्न गरेका छन्। राजावादीहरूको प्रदर्शनलाई इंगित गर्दै उनले भने, ‘पूर्वराजालाई सिंहासनमा बसाउने, नारायणहिटी छिराउने कुरा उठेको छ। कुनै कुर्सीमा राख्दा मानिस शासक हुन्छ? यस्तो मान्नैपर्छ र?’
उनले पूर्वराजालाई प्रश्न गर्दै थपे, ‘राष्ट्रपति रामचन्द्र पौडेललाई के गर्नुहुन्छ, जब तपाईं कुनै कुर्सीमा बस्नुहुन्छ? देशमा निर्वाचित राष्ट्रपति छन्। चुनेको राष्ट्रपतिको के गर्ने त?’
प्रधानमन्त्री ओलीले आफू अत्यधिक बहुमतले निर्वाचित प्रधानमन्त्री रहेको उल्लेख गर्दै भने, ‘मैले बनाएको सरकार दुई दलको सहमतिमा मजबुत रूपमा अगाडि बढिरहेको छ। हामी बलजफ्ती गर्दैनौं, विधि र कानुनअनुसार चल्छौं।’
उनले पूर्वराजालाई राजनीतिमा आउन चाहने हो भने स्वागतयोग्य हुने बताए। ‘राजनीतिमा आउन चाहनुहुन्छ भने स्वागत छ। मलाई साथ दिनु रे! के कुरामा साथ चाहिएको हो?’ उनले प्रश्न गरे।
त्यसक्रममा प्रधानमन्त्री ओलीले मुलुकको आर्थिक अवस्था चुनौतीपूर्ण रहेको स्वीकार्दै आगामी एक-दुई वर्षभित्र सुधार गर्ने प्रतिबद्धता जनाए। उनले गेटा मेडिकल कलेजको शैक्षिक कार्यक्रम यसै वर्षदेखि सञ्चालन हुने र भविष्यमा मेडिकल विश्वविद्यालयका रूपमा विकास गरिने जानकारी दिए। साथै, सुदूरपश्चिमलाई विकसित प्रदेश बनाउन उद्यमशीलता प्रवर्द्धन गर्नुपर्नेमा जोड दिँदै त्यसले रोजगारीका अवसर सिर्जना गर्ने दाबी गरे।