रौतहट । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वराजा ज्ञानेन्द्रलाई पार्टी खोलेर चुनाव लड्न सुझाव दिएका छन् । उनले राजतन्त्र पुनःस्थापना असम्भव रहेको स्पष्ट पारेका छन् ।
शनिबार बिहान रौतहट गरुडामा उद्योगी तथा व्यापारीसँग भेटघाट गर्दै सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष दाहालले भने, “इतिहासको चर्खा पछाडि फर्कँदैन । यदि उहाँलाई सत्तामा आउन मन छ भने पार्टी खोलेर चुनाव लड्न सक्नुहुन्छ, संविधानले त्यसको छुट दिएको छ ।”
अर्को सन्दर्भमा, उनले गरुडास्थित श्रीराम सुगर मिल पुनः सञ्चालनका लागि सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । उक्त मिल रोजगारी र आर्थिक विकाससँग जोडिएको हुनाले माओवादी केन्द्रको तर्फबाट सहजीकरण गर्ने उनले बताए ।
अध्यक्ष दाहालसहितको टोली माओवादी केन्द्रको ‘जनतासँग माओवादी तराई–मधेस जागरण अभियान’अन्तर्गत शुक्रबार साँझ रौतहट आइपुगेको हो । शनिबार दिउँसो परोहा नगरपालिकाको लौकाहामा आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको माओवादी पोलिटब्युरो सदस्य तथा रौतहट–४ ‘क’ का प्रदेशसभा सदस्य युवराज भट्टराई ‘समीर’ले जानकारी दिए ।