दक्षिण कोरियाको एक अदालतले महाभियोग लागेका राष्ट्रपति युन सुक योलको गिरफ्तारी रद्द गर्दै रिहाइका लागि अनुमति दिएको छ। उनका वकिलहरूले हिरासत गैरकानूनी भएको भन्दै अघिल्लो महिना अदालतमा अनुरोध गरेका थिए।
अभियोजन पक्षले योललाई अभियोग लगाउन लामो समय पर्खिएको थियो। अदालतले प्रक्रियागत स्पष्टता सुनिश्चित गर्न र अनुसन्धानको वैधतामा कुनै शङ्का नरहोस् भनी हिरासत रद्द गर्न उपयुक्त ठानेको जनाएको छ।
महाभियोग लगाइनु केही घण्टाअघि सांसदहरूले मतदानमार्फत सैनिक शासन घोषणा गरिएको भन्दै राष्ट्रपति योलविरुद्ध ‘राज्य विद्रोह’ आरोपको प्रस्ताव दर्ता गरेका थिए।
राष्ट्रपति योललाई जनवरी १५ मा हिरासतमा लिइएको थियो। महाभियोगसम्बन्धी मुद्दा संवैधानिक अदालतमा विचाराधीन छ, जसले योललाई पदबाट हटाउने वा नहटाउने टुंगो लगाउने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।