दिपक मनाङेले पाए कैद सजायमा छुट

335 Shares

काठमाडौं । राजीव गुरुङ ‘दिपक मनाङे’ ले कैद सजायमा २० प्रतिशत छुट पाएका छन्। जिल्ला अदालत काठमाडौंका न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले आज (शुक्रबार) मनाङेलाई बाँकी सजायको २० प्रतिशत छुट दिने आदेश दिएको हो।

मनाङेले मुलुकी ऐन, दण्ड सजाय महलको दफा ४१ (क) अनुसार २० प्रतिशत छुट माग गर्दै फागुन १२ गते निवेदन दिएका थिए। सोही अनुरूप अदालतले उनलाई छुट दिने आदेश दिएको जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी दिपककुमार श्रेष्ठले जानकारी दिए।

मुलुकी ऐनको सो दफामा अन्तिम फैसला भएको ६० दिनभित्र अदालतमा आत्मसमर्पण गरेमा कैद र जरिवानामा २० प्रतिशत छुट दिने व्यवस्था छ। ‘अदालतको फैसला भएको ६० दिनभित्र उपस्थित भएकाले मनाङेले कारागारमार्फत निवेदन दिएका थिए। सोही आधारमा उनलाई बाँकी सजायमा २० प्रतिशत छुट दिने आदेश भएको हो,’ श्रेष्ठले भने।

सर्वोच्च अदालतले मनाङेलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गर्दै ५ वर्ष कैद सजाय सुनाएको थियो। उनले २० वर्षअघि मिलन गुरुङ ‘चक्रे मिलन’ माथि तरबार प्रहार गरी उनको हात छिन्ने गरी आक्रमण गरेका थिए। यसअघि नै २ वर्ष ८ महिना जेल बसेका मनाङेलाई २ वर्ष ४ महिना थप कैद भुक्तान गर्नुपर्ने थियो। अब भने उनले बाँकी सजायमा २० प्रतिशत छुट पाउने भएका छन्।

सम्बन्धित समाचार

सबै