बुद्ध एयरको विमान पांग्रा छुटाएर काठमाडौं अवतरण, संसदमा छानबिनको माग

87 Shares

काठमाडौं । जनकपुर विमानस्थलबाट उडान भरेको बुद्ध एयरको विमान अगाडिको पांग्रा छुटाएर काठमाडौं आएपछि सो विषय संसद्मा उठान गरिएको छ। बिहीबार भएको घटनाबारे छानबिन गर्न सांसदहरूले जाँचबुझ आयोग गठन गर्न माग गरेका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद दीपक सिंहले उक्त घटनाको गम्भीरता औंल्याउँदै छानबिन आवश्यक रहेको बताए। उनले भने, “विमान काठमाडौंमा एउटा पांग्रामै अवतरण भयो। यसबारे सत्यतथ्य पत्ता लगाउन जाँचबुझ आयोग गठन गरिनुपर्छ।”

नेकपा (माओवादी केन्द्र)की सांसद छिरिङ लामु लामा तामाङले विमानको पांग्रा छुटेको खबरले यात्रुहरूको मनमा भूकम्प आएको अनुभव गराएको बताइन्। “यो सुन्दा हजारौँ यात्रु त्रसित भए, म आफैं पनि डराएँ,” उनले भनिन्।

बिहीबार साँझ ५:४५ बजे बुद्ध एयरको ९एन-एएनएच विमान जनकपुर विमानस्थलबाट काठमाडौंका लागि उड्ने क्रममा अगाडिको पांग्रा छुटेको थियो। तर, विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण गर्न सफल भयो। विमानमा ६२ यात्रु सवार थिए।

सांसदहरूले हवाई सुरक्षामा लापरबाही भएको भन्दै विमानस्थल प्रशासन र सम्बद्ध निकायको ध्यानाकर्षण गराएका छन्।

सम्बन्धित समाचार

सबै