
काठमाडौं । अबदेखि एउटै मन्त्रालयका मन्त्री र सचिवलाई एउटै कार्यक्रमका लागि विदेश भ्रमणमा नपठाइने भएको छ। दुवैजना मन्त्रालयमा अनुपस्थित हुँदा सुशासन र सेवा प्रवाहमा असर पर्ने भएकाले यस्तो भ्रमण स्वीकृत नगर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको हो।
गत फागुन २१ गते बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रीहरूको विदेश भ्रमण सम्बन्धी विशेष आचारसंहिता बनाएको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।
उनका अनुसार, अब मन्त्रीहरू मन्त्रीस्तरीय सम्मेलन तथा महत्वपूर्ण बैठकहरूमा मात्र विदेश जानेछन्। उनले भने, “सामान्य कार्यशाला वा संवाद कार्यक्रमका लागि मन्त्रीहरू विदेश नजाने व्यवस्था गरिएको छ। नेपाल सरकार कुनै पक्ष राष्ट्र भएकाले अनिवार्य रूपमा प्रतिनिधित्व गर्नुपर्ने, मताधिकार प्रयोग गर्नुपर्ने वा कुनै सम्झौतामा हस्ताक्षर गर्नुपर्ने अवस्थामा मात्र भ्रमण स्वीकृत हुनेछ। अन्य साना निमन्त्रणामा विदेश जान अनुमति दिइने छैन।”
कर्मचारीतर्फ पनि सचिव, सहसचिव लगायतका उच्च अधिकारीहरू एकैसाथ विदेश भ्रमणमा नजाने व्यवस्था मिलाइने उनले बताए।