काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले संवैधानिक अधिकारको प्रयोगमा सरकारले हस्तक्षेप गरे जनताले प्रतिकार गर्न बाध्य हुने चेतावनी दिएका छन्।
सामाजिक सञ्जालमा टिप्पणी गर्दै उनले राष्ट्रिय अखण्डता र जनतामा निहित सार्वभौमसत्ता बाहेक अन्य सबै व्यवस्था जनताको अभिमतबाट परिवर्तन गर्न सकिने उल्लेख गर्दै संवैधानिक अधिकार कुण्ठित भए जनताले विरोध गर्नुपर्ने अवस्था आउने बताएका छन्।
उनको टिप्पणी राजावादी दलहरू तथा अभियानहरूले फागुन २५ गते पूर्वराजा ज्ञानेन्द्र शाहलाई पोखराबाट काठमाडौं फर्किने क्रममा भव्य स्वागत गर्न लागेको सन्दर्भमा आएको हो।
थापाले भनेका छन्, “राष्ट्रिय अखण्डता र जनतामा निहित सार्वभौमसत्ता बाहेक अन्य सबै व्यवस्था जनताको अभिमतबाट परिवर्तन गर्न सकिन्छ। राजादेखि सर्वसाधारणसम्म जो-कोहीले यो संवैधानिक अधिकारको प्रयोग गर्दा सरकारले नियन्त्रण गर्न खोजे त्यो प्रत्युत्पादक हुनेछ, र जनताले प्रतिकार गर्न बाध्य हुनेछन्।”