मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोह आज, ३८४१ विद्यार्थी दीक्षित हुने

70 Shares

काठमाण्डौ – सुर्खेतस्थित मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोह आज हुँदैछ। विश्वविद्यालयका डीन लिलाधर तिवारीका अनुसार दीक्षान्त समारोहमा ३ हजार ८ सय ४१ जना विद्यार्थी दीक्षित हुनेछन्।

यस समारोहमा स्नातक तहका २ हजार १ सय ८९, स्नातकोत्तर तहका १ हजार ६ सय ३३, र दर्शनाचार्य तहका १९ जना विद्यार्थीले दीक्षित हुने अवसर पाउनेछन्।

विश्वविद्यालयको केन्द्रीय प्रशासनिक भवन कुइनेपानीमा आयोजना हुने दीक्षान्त समारोहमा विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुनुहुनेछ। साथै, भारतको सिक्किम केन्द्रीय विश्वविद्यालयका संस्थापक एवं जवाहरलाल नेहरू विश्वविद्यालयका प्राध्यापक डा. महेन्द्र पी. लामा प्रमुख अतिथिका रूपमा उपस्थित रहनेछन्।

दीक्षान्त समारोहपछि प्रधानमन्त्री ओलीले कर्णाली प्रदेशसभालाई विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ। प्रदेशसभा सम्बोधनपछि उहाँले विश्वविद्यालयको इन्जिनियरिङ संकायको भवन उद्घाटन गर्ने कार्यक्रम पनि छ।

यसपछि प्रधानमन्त्री ओलीले आउँदो जेठमा आयोजना हुने १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता हुने कर्णाली रंगशालाको निरीक्षण गर्नेछन्। निरीक्षण सकेपछि उहाँ आजै काठमाण्डौ फर्किने कार्यक्रम रहेको छ।

सम्बन्धित समाचार

सबै