इलेक्ट्रिक सिगरेट तस्करी प्रकरणमा चारजनाविरुद्ध मुद्दा दायर

70 Shares

लुम्बिनी – राजस्व अनुसन्धान विभागअन्तर्गत राजस्व अनुसन्धान कार्यालय, बुटवलले इलेक्ट्रिक सिगरेट (भेप) को अवैध कारोबार र राजस्व चुहावट गरेको आरोपमा चारजनाविरुद्ध उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा मुद्दा दायर गरेको छ।

राजस्व अनुसन्धान कार्यालय बुटवलले अनुसन्धानपछि काठमाडौँको डाइमण्ड इन्टरनेसनलका प्रोप्राइटर सुमन पराजुलीसहित चारजनालाई प्रतिवादी बनाउँदै मुद्दा दायर गरेको हो। अनुसन्धानअनुसार, डाइमण्ड इन्टरनेसनलको बिल प्रयोग गरी नेपालगञ्जस्थित तशनिम जनरल स्टोरलाई बिक्री देखाइ २,६०० भेप ढुवानी सेवा मार्फत पठाइएको थियो। उक्त भेप नेपालगञ्जबाट महँगो मूल्यमा भारत तस्करी हुने गरेको खुलेको छ।

मुद्दामा मुख्य प्रतिवादी पराजुली र तशनिम जनरल स्टोरका हसिमुन जोलाहलाई राजस्व चुहावट ऐन, २०५२ अन्तर्गत दोषी ठहर गरी ६२ लाख ७१ हजार ६७६ रुपैयाँ बिगो कायम गर्दै सोही बराबर जरिवाना तथा हदैसम्मको कैद सजायको माग गरिएको छ।

यसैगरी, तस्करीमा संलग्न रोजन न्यौपाने र सनाउल्ला अन्सारीलाई मुख्य प्रतिवादीलाई हुने सजायको आधा सजाय तथा ३१ लाख ३५ हजार ८३८ रुपैयाँ जरिवानाको मागसहित अभियोग दायर गरिएको छ।

मुख्य प्रतिवादीहरू फरार रहेको छ भने मतियारहरूलाई करिब ९० दिन हिरासतमा राखी अनुसन्धान गरिएको थियो। राजस्व अनुसन्धान विभागले हालसम्म विभिन्न ठाउँबाट एक लाखभन्दा बढी भेप बरामद गरी कारबाही जारी राखेको जनाएको छ।

4o

सम्बन्धित समाचार

सबै