कार्यसम्पादन मूल्याङ्कन फाराम नबुझाएपछि कुलमानलाई शून्य अंक : मन्त्री खड्का

64 Shares

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कूलमान घिसिङले कार्यसम्पादन मूल्याङ्कन फाराम नै नबुझाएका कारण शून्य अंक प्राप्त गरेको बताएका छन्। बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै मन्त्री खड्काले घिसिङले मन्त्रालयमा स्वयंकै नम्बर बुझाएको भन्दै त्यसलाई मान्यता दिन नसकिने बताए।

‘विद्यार्थी नै जाँचमा अनुपस्थित भएपछि नम्बर पाउँछ कि पाउँदैन?’ भन्दै उनले प्रश्न गरे। मन्त्री खड्काका अनुसार, घिसिङलाई २०७८ साउन २७ गते नियुक्त गर्दा हरेक वर्ष कार्यसम्पादन मूल्याङ्कन गर्ने र सोही आधारमा पुरस्कृत वा निष्काशन गर्ने व्यवस्था गरिएको थियो।

उनले घिसिङले उठ्न बाँकी बक्यौता समेत प्राधिकरणको नाफामा जोडेको आरोप लगाए। प्राधिकरणको खर्चसम्बन्धी स्पष्ट अभिलेखसमेत नभएको बताउँदै उनले घिसिङको भनाइका आधारमा मात्र प्राधिकरण नाफामा छ भन्ने स्थिति नहुने स्पष्ट पारे।

मन्त्री खड्काले घिसिङले सरकारका अनुरोधहरू वेवास्ता गरेको आरोप लगाउँदै भारतबाट ४५० मेगावाट विद्युत् आयात गरेर मात्र लोडसेडिङ मुक्त भएको स्मरण गराए। ‘केही पनि नमान्ने, कसैलाई सुन्नै नपर्ने यस्तो पनि हुन्छ र?’ भन्दै उनले घिसिङप्रति असन्तोष व्यक्त गरे।

कानुनको पालना नगरेकाले कार्यसम्पादन मूल्याङ्कनमा शून्य अंक दिइएको उल्लेख गर्दै मन्त्री खड्काले ‘उहाँ कानुनभन्दा माथि हुनुहुन्छ भने संविधानमै लेख्नू’ भनी व्यंग्य गरे। उनले कानुनको पालना सबैका लागि बाध्यकारी रहेको र त्यसको उल्लङ्घन गर्न नपाइने बताए।

सम्बन्धित समाचार

सबै