काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोजप्रसाद गुरागाईलाई निरन्तरता दिने वातावरण बनाउन आग्रह गरेको छ। बुधबार काठमाडौं महानगरलाई पत्र लेख्दै मन्त्रालयले गुरागाईलाई कार्यालयमा हाजिर भई काम गर्ने सहज वातावरण मिलाउन अनुरोध गरेको हो।
मन्त्रालयको पत्रमा गुरागाईले २०७१ पुस ८ गतेदेखि कार्यालय प्रवेशमा अवरोध सिर्जना गरिएको र हाजिर गर्न नपाएको भन्दै सहजीकरणका लागि निवेदन पेस गरेको उल्लेख छ। उक्त निवेदनका आधारमा सामान्य प्रशासन मन्त्रीस्तरीय निर्णयअनुसार उनलाई महानगरमा पुनः कार्य सम्पादन गर्न दिन आग्रह गरिएको छ।
यसअघि गुरागाईले सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेखेर काठमाडौं महानगरमा सहज रूपमा काम गर्ने वातावरण बनाउन अनुरोध गरेका थिए। उक्त पत्रपछि मन्त्री राजकुमार गुप्ताको अध्यक्षतामा बसेको बैठकले उनलाई नै निरन्तरता दिनुपर्ने निष्कर्ष निकालेको थियो।
गुरागाई काठमाडौं टावरको नक्सा पाससम्बन्धी विवादका कारण गत पुस ८ गतेदेखि विदामा बसेका थिए। उनले कार्यालय फर्किन खोज्दा बारम्बार अवरोध भएको आरोप लगाएका छन्। काठमाडौं महानगर दुई महिनादेखि कायममुकायम प्रमुख प्रशासकीय अधिकृतका भरमा सञ्चालन भइरहेको छ भने काठमाडौं टावरको विवाद उत्कर्षमा पुगेको छ।