अमेरिकी सहयोग दुरुपयोग गर्नेको सूची सार्वजनिक गर्न सांसद खतिवडाको माग

88 Shares

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले अमेरिकी सहयोगको दुरुपयोग गर्नेहरूको सूची सार्वजनिक गर्न सरकारसँग माग गरेका छन्। प्रतिनिधिसभा बैठकमा बोल्दै उनले गैरसरकारी संस्था (एनजीओ) तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आइएनजीओ) मार्फत आएको सहयोगको दुरुपयोग गरिएको भन्दै यसको वास्तविकता खुलाउने गरी श्वेतपत्र जारी गर्न आग्रह गरे।

सांसद खतिवडाले सरकारले गलत ढंगले खर्च भएको भन्दै देशकै बदनाम गरेको आरोप लगाए। उनले भने, ‘एनजीओ र आइएनजीओका नाममा आएको रकम कति छ? दुरुपयोग भएको हो भने सरकारले स्पष्ट रूपमा श्वेतपत्र जारी गरोस्।’

यस्तै, उनले अमेरिकाले गैरकानुनी रूपमा बसेका गैरआवासीय नेपालीहरूलाई स्वदेश फर्काउने क्रममा अमानवीय व्यवहार गरेको दाबी गरे। उनका अनुसार, ५० लाखदेखि एक करोड रुपैयाँसम्म खर्च गरेर अमेरिका पुगेका नौ नेपालीलाई बुधबार मात्र फिर्ता पठाइएको छ। ती नेपालीहरू मानव तस्करको सञ्जालमा परेर १४ देश पार गर्दै अमेरिका पुगेका थिए।

खतिवडाले अमेरिकी निकासी प्रक्रियाप्रति असन्तोष जनाउँदै नेपाली नागरिकहरूसँग अमानवीय व्यवहार नगर्न आग्रह गरे। ‘गैरआवासीयहरूलाई विश्वव्यापी मानव अधिकारका मूल्यभित्र रही सम्मानजनक व्यवहार गरियोस्,’ उनले भने। साथै, पत्रकारहरूले पनि मर्यादित प्रश्न गर्नुपर्नेमा उनले जोड दिए।

सम्बन्धित समाचार

सबै