काठमाण्डौ – सरकारले नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर नियुक्तिका लागि प्रक्रिया सुरू गरेको छ। मन्त्रिपरिषद्को बैठकले गभर्नर सिफारिश समिति गठन गर्न अर्थ मन्त्रालयलाई स्वीकृति दिएको छ।
राष्ट्र बैंक ऐनअनुसार अर्थमन्त्रीको अध्यक्षतामा रहने समितिमा पूर्वगभर्नरहरूमध्येबाट एक तथा आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय वा वाणिज्य कानूनका विज्ञमध्ये नेपाल सरकारले तोकेको एक सदस्य रहने छन्। समितिले तीन जनाको नाम मन्त्रिपरिषद्लाई सिफारिश गर्नेछ, जसमा कम्तीमा एक जना डेपुटी गभर्नरसमेत हुनुपर्ने व्यवस्था छ।
हालका डेपुटी गभर्नरहरू निलम ढुंगाना, बमबहादुर मिश्र, पूर्व लगानी बोर्ड प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट, तथा हालका गभर्नर महाप्रसाद अधिकारी समेत सम्भावित उम्मेदवारका रूपमा लबिङ गरिरहेका छन्। गभर्नर अधिकारीको कार्यकाल चैत अन्तिममा सकिँदैछ।
राष्ट्र बैंक ऐन अनुसार गभर्नर बन्ने व्यक्तिले नेपालको नागरिकता प्राप्त गरेको, उच्च नैतिक चरित्र भएको, आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य, व्यवस्थापन, तथ्याङ्कशास्त्र, गणित वा कानूनमध्ये कुनै विषयमा स्नातकोत्तर उपाधि हासिल गरेको र कम्तीमा १० वर्षको अनुभव भएको हुनुपर्छ।
गभर्नरलाई राष्ट्र बैंकको सञ्चालन, मौद्रिक नीति कार्यान्वयन, बैंक तथा वित्तीय संस्थाहरूको नियमन तथा सुपरीवेक्षण, ब्याजदर तथा तरलता नीति निर्धारण, विदेशी विनिमय व्यवस्थापन, वित्तीय संस्था इजाजत तथा खारेजीजस्ता शक्तिशाली अधिकार प्राप्त हुने व्यवस्था छ।