प्रधानमन्त्री ओली महोत्तरी जान लागे, देशकै सबैभन्दा ठूलो कागज उद्योगको उद्घाटन

41 Shares

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली आज महोत्तरी जाने भएका छन्।

महोत्तरीको गौशाला-१ इँटाटारमा स्थित ‘नेपाल पल्प एन्ड पेपर इन्डस्ट्रिज प्रालि’ नामक देशकै सबैभन्दा ठूलो कागज उद्योगको उद्घाटन गर्न ओली महोत्तरी प्रस्थान गर्दैछन्। उनले आज विहान साढे ११ बजे उक्त स्थानमा पुग्ने जनाइएको छ।

आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले झन्डै दुई अर्ब रुपैयाँको लगानीमा यो उद्योग स्थापना गरेका छन्। कागज उत्पादन गरी आयातमा निर्भरता घटाउने उद्देश्यका साथ उद्योग खोलेको ढकालले बताए।

२०७८ मा शिलान्यास भएको उक्त उद्योगले हाल उत्पादन सुरु गरेको छ र ५०० जनालाई प्रत्यक्ष रोजगारी दिनेछ। नेपालमा वार्षिक करिब डेढ लाख मेट्रिक टन कागज खपत हुने भए पनि हालसम्म सम्पूर्ण कागज आयात गर्नुपर्ने बाध्यता रहेको छ।

उद्योगले विद्यालय र कलेजका कापी, फोटोकपी पेपर, ट्वाइलेट पेपर र टिस्यु पेपरलगायत सामग्री उत्पादन गर्नेछ र कुल कागज मागको ३० प्रतिशतभन्दा बढी स्वदेशमै उत्पादन गर्ने लक्ष्य राखेको छ।

भन्सार विभागका अनुसार नेपालले गत आर्थिक वर्षमा ८ अर्ब १४ करोड रुपैयाँ बराबरको कागज आयात गरेको थियो भने चालु आर्थिक वर्षको पहिलो सात महिनामा ३ अर्ब ६५ करोड रुपैयाँ बराबरको कागज आयात गरेको छ।

सम्बन्धित समाचार

सबै