काठमाडौं – यूईएफए च्याम्पियन्स लिग प्रि-क्वार्टरफाइनलको पहिलो लेगमा सहरिया प्रतिद्वन्द्वी एट्लेटिको मड्रिडलाई २–१ ले हराउँदै रियाल मड्रिडले महत्वपूर्ण जित हासिल गरेको छ।
खेल मंगलबार राति रियालको घरेलु मैदान सान्टियागो बर्नबेउमा भएको थियो। दोस्रो हाफमा ब्राहिम डियाजको गोल निर्णायक बन्यो, जसले रियाललाई जित दिलायो। पहिलो हाफमा रोड्रिगोको गोलले रियाललाई अग्रता दिलाएपछि एट्लेटिकोका हुलियन आल्भारेजले बराबरी गोल गरे।
रियाल मड्रिडका प्रशिक्षक कार्लो एन्सेलोट्टीले खेलपछि टिमको प्रदर्शनबाट सन्तुष्टि व्यक्त गर्दै भने, “यो च्याम्पियन्स लिगको फाइनल र सेमिफाइनल जस्तो अन्तिम–१६ को खेल हो। एट्लेटिको युरोपको उत्कृष्ट टिम हो। हामीले सानो अग्रता बनाएर दोस्रो लेगमा आत्मविश्वास पाउनेछौं।”
यी दुई टिम बीचको दोस्रो लेग मार्च १३ मा एट्लेटिको मड्रिडको मैदानमा हुनेछ।