विद्यादेवी भण्डारीको केपी शर्मा ओलीलाई कम्युनिस्ट एकताको लागि दबाब

244 Shares

काठमाडौं: पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले कम्युनिस्ट आन्दोलनको एकताका लागि नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई दबाब दिएकी छन्। उनले कम्युनिस्ट आन्दोलनको एकता अबको भविष्यको बाटो भएको प्रष्ट सन्देश दिएकी हुन्।

सोमबार गणेश पाण्डेको पुस्तक ‘केपी शर्मा ओली: सपना, संघर्ष र संकल्प’ को विमोचन कार्यक्रममा प्रमुख अतिथि भण्डारी थिइन्, जसमा ओली पनि उपस्थित भए। कार्यक्रममा ओली बोल्न नपाएको भए पनि भण्डारीले उनको सक्रियता र राजनीतिक नेतृत्वको प्रशंसा गरिन्।

भण्डारीले ओलीलाई ‘अतुलनीय सक्रियता, अदम्य इच्छाशक्ति र सिर्जनशील क्षमताका धनी एक उत्कृष्ट राजनेता’ भनेर प्रशंसा गर्दै कम्युनिस्ट पार्टी एकता गर्न शुभेच्छा दिइन्। उनले गुट र फुटलाई परास्त गर्दै पार्टीलाई सुदृढ बनाउन ओलीको भूमिकाको सराहना गरिन् र भविष्यमा नेपाली कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउनको लागि ओलीबाट ठूलो योगदानको अपेक्षा व्यक्त गरिन्।

प्राध्यापक कृष्ण पोखरेलले भण्डारीको सन्देशलाई सार्वजनिक रुपमा दबाबको रुपमा विश्लेषण गरेका छन्। उनी भन्छन्, “भण्डारीले एकताको मार्गको प्रष्ट संकेत दिइन् र यदि ओलीले यो कदम नचाले भने अरुले यो मार्ग लिनेछन्।”

अर्को पक्षमा, एमाले स्थायी कमिटी सदस्य भानुभक्त ढकालले कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्नको लागि पार्टीभित्रको प्रक्रिया जारी रहेको बताए।

विद्यादेवी भण्डारीका हालका कदम र भेटघाटका गतिविधिहरूले उनी सक्रिय राजनीतिमा फर्किने संकेत गरेका छन्, र विभिन्न विश्लेषकहरुले उनलाई एकता स्थापित गर्नको लागि उपयुक्त नेतृत्वको रुपमा देखिरहेका छन्।

सम्बन्धित समाचार

सबै