भैरहवा विमानस्थलमा यात्रु वृद्धि, सुविधाहरू अझै अपूरा

83 Shares

काठमाडौं – कम भिजिबिलिटीमा पनि उडान र अवतरण गर्न सक्ने प्रणाली जडानपछि भैरहवा विमानस्थलमा यात्रु आवागमनमा वृद्धि भएको छ। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा रिक्वायर्ड नेभिगेसन पर्फर्मेन्स अथोराइज्ड रिक्वायरमेन्ट (RNP-AR) प्रणाली जडान भएपछि फेब्रुअरी महिनामा ६ हजार ७९ यात्रुले भैरहवा हुँदै यात्रा गरेका छन्।

सबैभन्दा धेरै यात्रु ओसारपसार गर्नेमा जजिरा एयरवेज पहिलो स्थानमा रहेको छ, जसले ३२६५ यात्रु भैरहवा ल्याएको छ। दोस्रो स्थानमा २४०३ यात्रु ओसारेको फ्लाई दुबई रहँदा, तेस्रो स्थानमा १०९७ यात्रु ओसारेको थाई एयर एशिया छ। फेब्रुअरी महिनामा १३ वटा चार्टर्ड उडानसमेत भए, जसमा २११ यात्रु आएका थिए।

नेपाल एयरलायन्समार्फत भने जम्मा एक यात्रु आएको तथ्यांक छ। महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार फेब्रुअरीको तथ्यांक हालसम्मकै उच्च हो। हाल भैरहवाबाट सातामा १५ उडान भइरहेका छन्।

भिषा सेन्टर र स्वास्थ्य परीक्षण सेवा अझै अपूरा

भैरहवा विमानस्थलको प्रभावकारी सञ्चालनका लागि आवश्यक भिषा सेन्टर, स्वास्थ्य परीक्षण तथा म्यानपावर कार्यालय अझै स्थापना हुन सकेका छैनन्। महाप्रबन्धक तिवारीका अनुसार यी सेवाहरू भए विमानस्थल दीर्घकालीन रूपमा सञ्चालनमा सहजता आउनेछ।

मन्त्रिपरिषद्ले भैरहवा र पोखरा विमानस्थल सञ्चालनका लागि २३ बुँदे कार्ययोजना ल्याएको थियो। त्यसअन्तर्गत हवाइ टिकटमा भ्याट छुट, इन्धन सहुलियत, यात्रु सेवा शुल्क छुट, पार्किङ तथा ल्याण्डिङ शुल्क छुटजस्ता योजनाहरू अझै पूर्णरूपमा कार्यान्वयन हुन सकेका छैनन्।

पोखरा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान सीमित

काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नतिको कामका कारण कात्तिक २३ देखि रातिको समयमा बन्द रहँदा भैरहवा तथा पोखरा विमानस्थलबाट ३० प्रतिशत उडान हुन सक्ने अनुमान गरिएको थियो। तर, न्यून सङ्ख्यामा मात्रै उडान भएका छन्। पोखरा विमानस्थलमा अन्तर्राष्ट्रिय उडानको अभाव कायमै छ।

यसैबीच, हिमालय एयरलायन्सले मार्च अन्त्यदेखि पोखरा–ल्हासा उडान सञ्चालन गर्ने तयारी गरेको छ। पहिलो उडान मार्च ३१ मा त्रिभुवन विमानस्थलबाट ल्हासा जानेछ, जसपछि सोही दिन ल्हासा–पोखरा उडान हुनेछ।

सम्बन्धित समाचार

सबै