
काठमाडौं – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले परराष्ट्र मन्त्रालयको धेरैजसो काम विदेशमा रहेका नेपाली नागरिकहरूको उद्धारमा केन्द्रित जस्तो देखिने बताएकी छन्।
नेपाली कांग्रेस केन्द्रीय प्रशिक्षण प्रतिष्ठानले भैरहवामा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा उनले विदेशमा नेपालीहरू अनेक समस्यामा परेकाले परराष्ट्र मन्त्रालयको प्रमुख भूमिका उद्धारमै केन्द्रित भएको उल्लेख गरिन्। सीमित स्रोत, साधन र जनशक्तिका कारण संसारभर रहेका नेपालीहरूको उद्धार चुनौतीपूर्ण रहेको उनको भनाइ छ।
मन्त्री देउवाले संसारभर नेपालीहरूको वास्तविक सङ्ख्या मन्त्रालयलाई पूर्वजानकारी नहुने र आपत्कालीन अवस्थामा मात्र थाहा हुने अवस्था रहेको बताइन्। बङ्गलादेशमा मेडिकल अध्ययन गर्ने विद्यार्थीहरू समस्यामा परेपछि मात्र त्यहाँ कति नेपाली छन् भन्ने जानकारी भएको उदाहरण दिँदै उनले उद्धार कार्य चुनौतीपूर्ण हुने उल्लेख गरिन्।
उनले अवैधानिक रूपमा घरेलु कामदारका रूपमा मध्यपूर्वी देशहरूमा जाने नेपाली महिलाको सङ्ख्या बढिरहेको र उद्धारका क्रममा कठिनाइ पर्ने बताइन्। नेपाली डायस्पोरालाई प्रभावकारी कन्सुलर सेवा उपलब्ध गराउन मन्त्रालयले ओएनएम (Organizational and Management) प्रक्रिया अपनाउँदै दरबन्दी बढाएको जानकारी दिइन्।
नेपालीहरूको उल्लेख्य उपस्थिति भएका तर राजनयिक मिसन नभएका क्षेत्रहरूमा सेवा विस्तार भइरहेको भन्दै टेक्सास, सानफ्रान्सिस्को, र दुबईमा महावाणिज्यदूतावास स्थापना गरिएको उनले जानकारी गराइन्। साथै, अमेरिकाले वैदेशिक सहयोग रोक्न थालेजस्तै अन्य देशबाट पनि यस्तै हुन सक्ने भन्दै स्वदेशमै रोजगारी सिर्जना गर्न कांग्रेसले अभियान सञ्चालन गर्नुपर्ने उनले जोड दिइन्।