206
Shares
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली तेस्रो केपी ओली कप फुटबल च्याम्पियनसिपको समापन समारोहमा सहभागी भएका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजित कार्यक्रममा इटलीका अन्तर्राष्ट्रिय गोलरक्षक जियानलुइजी बुफोन प्रमुख अतिथिका रूपमा उपस्थित भएका छन् ।
इटालीका पूर्व कप्तानसमेत रहेका बुफोन आइतबार नेपाल आइपुगेका हुन् । उनले सन् २००६ को फिफा विश्वकप जितेका थिए र कीर्तिमानी १७६ अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन् । बुफोनले इटलीका लागि ८० खेलमा कप्तानी गर्दै सन् १९९८ देखि २०१४ सम्म लगातार पाँच विश्वकप खेलेका थिए ।
रंगशालामा खचाखच दर्शकबीच त्रिभुवन आर्मी क्लब र मछिन्द्र फुटबल क्लबबीच फाइनल खेल हुँदैछ । खेलअघि कलाकारहरूले सांगीतिक प्रस्तुति दिएका थिए । राष्ट्रिय युवा संघ नेपालको आयोजनामा प्रतियोगिता फागुन ११ गतेदेखि सुरु भएको थियो ।