मतभेद हटाएर कांग्रेसलाई जीवन्त बनाउनुपर्ने: सभापति देउवा

250 Shares

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेताहरूबीचको मतभेद हटाएर मात्रै पार्टीलाई जीवन्त बनाउन सकिने बताएका छन्।

सोमबार भैरहवामा आयोजित कांग्रेसका क्षेत्रीय सभापतिहरूको प्रशिक्षण कार्यक्रम उद्घाटन गर्दै उनले आपसी छलफल र मेलमिलापमार्फत एकता आवश्यक रहेको उल्लेख गरे।

देउवाले वर्तमान दुई दलीय सरकारले नागरिकको विश्वास जित्न सके मात्रै लोकतान्त्रिक प्रणाली मजबुत हुने बताए। साथै, संविधान संशोधनसहित पूर्ण कार्यान्वयन, गणतन्त्र र समावेशी व्यवस्थाको संस्थागत विकासमा कांग्रेसको भूमिका महत्वपूर्ण हुने उनको भनाइ थियो।

‘दुई दलीय सरकार छ, यसको सफलताले हामीलाई फाइदा पुग्छ,’ उनले भने, ‘हामीले सरकार र सत्ता साझेदार दलहरूप्रति इमान्दार व्यवहार गर्नुपर्छ र देशलाई अहिलेको अवस्थाबाट माथि उठाउन सबै दल मिलेर काम गर्नुपर्छ।’

उनले नेपालको संविधानले सबै वर्ग, जातजाति र धर्म समुदायको अधिकार सुनिश्चित गरेको उल्लेख गर्दै यसको प्रभावकारी कार्यान्वयनमा कांग्रेसको जिम्मेवारी महत्वपूर्ण हुने बताए। अहिले कांग्रेसले बहुमत ल्याउने अवस्था नभए पनि भविष्यमा बलियो उपस्थिति बनाउन नेतृत्वले बढी सिट जित्ने रणनीतिमा ध्यान दिनुपर्ने देउवाले जोड दिए।

सम्बन्धित समाचार

सबै